Logo

Breaking News 1

असोज २६ सम्म पुरा हुनुपर्ने खानेपानी योजनाको जम्मा ५० प्रतिशत काम



रामेछाप । रामेछाप जिल्लाकै गौरवको खानेपानी योजना मध्येको एक रामेछाप वृहत् पम्पिङ खानेपानी आयोजना कार्यालय र निर्माण व्यवसायीको लापरबाहीले अलपत्र परेको छ । २०७८ असारबाट तीन वर्ष भित्र काम सक्ने गरी सम्झौता भएको सो खानेपानी योजनाको काम अहिले पनि ५० प्रतिशत मात्र पुरा भएको छ । सम्झौता अनुसार २०८१ सालको असार महिनामा नै सो खानेपानी योजना सम्पन्न हुनु पर्ने हो । तर समयमा काम नसकिएपछि आउने असोज २६ गतेसम्म काम सक्नुपर्ने गरी म्याद थपिएको भए पनि निर्माण कम्पनीले काममा चासो देखाएको छैन ।

मन्थली नगरपालिकाकोको वडा नं ५ सुनारपानी, वडा नं ४ सालु तथा रामेछाप नगरपालिका २ को देरालीसम्मका २ हजार ७ सय घर परिवारलाई खानेपानी सुविधा पु¥याउने उद्देश्यले सो खानेपानी योजना सञ्चालन भएको हो । तामाकोसी नदीबाट पानी तानेर खानेपानी वितरण गरिने उक्त आयोजना निर्माणको जिम्मा शर्मा सगुन जेबीले लिएको थियो । संघीय खानेपानी मन्त्रालयको खानेपानी विभाग मार्फत ६१ करोड ४९ लाख रुपैँयमा सम्पन्न हुने सो खानेपानी योजनाको लागि स्थानीय उपभोक्ताको १ प्रतिशत रकम ४ वर्ष अघि नै जम्मा गरिसकेका छन् ।

अहिले खानेपानीको लागि गाडिएको पाइप खिया लागेर काम नलाग्ने अवस्थामा पुगेको छ । निर्माण गरिएका अन्य संरचना पनि अस्तव्यस्त अवस्थामा छन् । खानेपानी जस्तो संवेदनशील कुरामा समेत कार्यालय र व्यवसायीले लापरबाही गरेको मन्थली नगरपालिका–५ का वडाध्यक्ष रवीन कार्की बताउँछन् । खानेपानी योजना सुरु हुँदा स्थानीय खुसी भए पनि काम समयमा नसकिँदा निराश भएका स्थानीय ध्रुव सुवेदी बताउँछन् । त्यस्तै योजनाका संरचना पनि अस्तव्यस्त भएका उनले सुनाए ।

संघीय खानेपानी तथा ढल निकास कार्यालय रामेछापका प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठ हालसम्म काममा ५५ प्रतिशत र ५० प्रतिशत आर्थिक प्रगति भएको बताउँछन् । कात्तिक ३० गतेभित्र केही स्टेजमा पानी चलाउने निर्माण व्यवसायीले बताएको र फागुनसम्म सबै काम सकिने कुरा भएको श्रेष्ठको भनाइ छ । तर त्यसको आधार भने कार्यालयसँग पनि छैन ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ७ : १७ बजे