काठमाडौँ । (गैर आवासीय नेपाली संघ – एनआरएनए) अभियन्ता र पूर्व युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले आगामी मे महिनामा काठमाडौँमा हुने एकता महाधिवेशनको तयारीलाई असर पुर्याउन सक्ने भनेर माल्टामा आयोजना गर्न लागिएको भनिएको क्षेत्रीय सम्मेलनको कुनै औचित्य नभएको बताएका छन्।
आचार्यले भने, “सर्वोच्च अदालतको परमादेशअनुसार मे ३-५, २०२५मा काठमाडौँमा हुने एकता महाधिवेशनलाई असर नगर्न उच्चस्तरीय समितिले सबै एनसीसीलाई पत्राचार गरिसकेको छ। अदालतको आदेशको उल्लङ्घन गर्दै र एनआरएनएको एकतामा असर पुर्याउने गरी कुनै पनि सभा सम्मेलन नगर्न म सबैलाई अपिल गर्दछु।”
आचार्यले युरोपका एनसीसी सदस्यहरुलाई माल्टाको सम्मेलनमा सहभागी भएर समय र पैसा खर्च गर्नुको सट्टा, ३१ मार्च भित्र सदस्यता वितरण गरेर काठमाडौँमा हुने एकता महाधिवेशनमा सहभागी हुने वातावरण बनाउन आग्रह गरे।
उनले भने, “नागरिकता, सुरक्षित आप्रवासन, प्रवासमा रहेका नेपालीहरुको मताधिकार जस्ता विषयमा नेपालमै आएर नेपाल सरकारलाई दबाब दिन जरुरी छ, त्यसैले क्षेत्रीय सम्मेलनको नाममा लाखौं युरो खर्च गर्नुको आवश्यकता छैन। त्यहाँ छलफल गर्ने विषयहरू काठमाडौँमै आएर छलफल गरौं।”
आचार्यले साथै माल्टाको क्षेत्रीय सम्मेलनको नाममा अनुमति बिना विभिन्न व्यक्ति र संस्थाले सहयोग र स्पन्सर गरेको भन्दै यसबाट जनमानसमा भ्रम फैलाइएको आरोप पनि लगाए। उनले भनें, “यी सबै गतिविधिको हिसाब-बकाया बद्रि केसी समूहले दिनुपर्छ।”
पूर्व युरोप संयोजक आचार्यले थाइल्याण्ड र कम्बोडियामा सम्पन्न विभिन्न सम्मेलनहरूमा करोडौं रुपियाँ खर्च गर्ने बद्री केसी समूहको अराजक गतिविधिको पनि आलोचना गरे। उनले आगामी ५ मे पछि बन्ने नयाँ कार्यसमितिले केसी र उनको टोलीमाथि गम्भीर छानबिन गर्नुपर्ने र संस्थाको कोष दुरुपयोग गर्ने व्यक्तिहरू विरुद्ध कानूनी कारवाही गर्नुपर्ने बताए।
आचार्यले सर्वोच्च अदालतको आदेश अनुसार बालुवाटारस्थित संघको केन्द्रीय सचिवालयलाई उच्चस्तरीय समितिलाई तत्काल हस्तान्तरण गर्न माग गरे।
“एकता महाधिवेशन आयोजना गरेर एनआरएनएको गुमेको साख जोगाउने यो अन्तिम अवसर हो, त्यसैले कुनै भ्रममा नपरी यसलाई खेर नफालौं,” आचार्यले भने।
प्रतिक्रिया