Logo

समाचार

विकास गर्दा बिनास हुँदैन, वन क्षेत्र जोगाएरै अघि बढ्छौं : मन्त्री ठकुरी



काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन जोगाउने र विकास गर्ने दुईवटै विषयलाई सँगै लानुपर्ने बताए ।

सोमबार प्रस्तावित सुर्खेत भेरीगंगा रामघाट विमानस्थलको आयोजनाको वातावरणीय अध्ययन सम्बन्धमा छलफल कार्यक्रममा उनले वनलाई बचाउने भन्दैमा सबै विकास निर्माणका कामहरु ठप्प पार्न नहुने भन्दै दुवै विषयलाई लिएर अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘सरकारले देशलाई एउटा नयाँ गति दिनुपर्छ भनेर लागेका छौ । नयाँ अवस्था निर्माण गर्नुपर्छ, सन्देश दिनुपर्छ । नयाँ केही योजना आउँदा त्यसको राम्रो र नराम्रो पक्ष हुन्छ । वन मन्त्रालयमा काम गर्दैगर्दा वनलाई बचाउने मेरो कर्तव्य हो तर त्यो भन्दैमा सबै विकास निर्माणका कामहरु ठप्प बनाउने, त्यो पनि हुदैँन् । वन पनि जोगाउनु पर्यो, विकास पनि गर्नुपर्छ । यी दुईवटै विषयलाई सँगै लानुपर्ने अवस्था छ । विकास कहाँ गएर गर्ने त देशभरि वन नै वन छ विकास नै नगर्ने हुदँन् ।’

यसको साथै, उनले यो विषयमा थप विज्ञ र अभियन्ताहरुलाई राखेर छलफल गर्नुपर्ने भन्दै विकासको साथै यसले भविष्यमा गर्ने विनाशको बारेमा पनि सचेत हुनुपर्ने बताए ।

उनले भने, ‘रामघाट क्षेत्रमा पनि सबै पार्टीहरु छन् । त्यसकारण राजनीतिक छलफल राजनीतिक तर्फबाट हुन्छ । त्यो बाहेक अन्य पनि विषय होला छलफल गर्नको लागि त्यसकारण हामी अहिले प्रारम्भिक छलफलमा छौ । यो विषयमा अहिले नै धेरै कुराहरु पूर्वग्राही भएर गर्नु हुँदैन् । सकारात्मक तरिकाले हेरौं । यसमा अझै व्यापक, थप विज्ञ र अभियान्ताहरुलाई राखेर छलफल गरौं । विकास गरौं तर विकासले भविष्यमा गर्ने विनाशको बारेमा पनि सचेत हुनुपर्छ ।’

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ३ : ३८ बजे