Logo

मुख्य समाचार

उच्चस्तरीय समिति र सेवा प्रदायक निकाय छुट्याउने विषय मन्त्रीपरिषद्मा



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई उडड्न क्षेत्रलाई सुरक्षित गर्न र हवाइ रुटको अनुमतिका सम्बन्धमा विभिन्न मुलुकहरुसँग सकरात्मक संवाद भएको बताएका छन् ।

हालै नयाँ दिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मन्त्रीस्तरीय सम्मेलनमा महेन्द्रनगर नेपालगन्ज हवाई रुटका विषयमा भारतीय नागरिक उड्डयनमन्त्रीसँग सकरात्मक कुरा भएको उनले जानकारी दिए ।

त्यस्तै विभिन्न देशमा नेपालबाट सिधा उडानका सम्बन्धमा प्रशस्त छलफल भएको उनले जानकारी दिए । ‘कार्ययोजना अनुसार सिधा हवाई उडान गर्ने सवालमा विभिन्न देशका मन्त्रीहरुसँग कुरा भयो । सम्बन्धित देशका एयरलाइन्सहरुलाई यता आकर्षित गर्न आग्रह गरेको छु । भियतनाममा धेरै बौद्ध धर्मावलम्बीहरु हुनुभएकाले उहाँहरुलाई लुम्बिनीसम्म ल्याउन पहल भएको छ । अष्ट्रेलियासम्म सिधा हवाई उडान एवम जापानसँग उडानसँग सकरात्मक संवाद भएको छ,’ उनले भने,‘आईकाओ र ईयूका प्रतिनिधिहरुसँग सकरात्मक कुरा भयो । नेपालको हवाई आकाश सुरक्षित छ भन्ने सावालमा छलफल भएको छ । चाँडै परिणाम आउनसक्छ ।’

त्यस्तै उनले हालसम्म भएका हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव तथा नागरिक उड्डयनका क्षेत्रमा नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरि बनेको विधेयक मन्त्रिपरिषद्मा पेश भइसकेको जानकारी दिए ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उच्च अदालतका पूर्व न्यायाधीशको संयोकत्वमा उच्चस्तरीय छानबिन समितिको प्रस्ताव मन्त्रिपरिषदमा प्रवेश भइसकेको बताएका हुन् ।

उनले भने,हालसम्म भएका विमान दुर्घटनाको विषय क्याबिनेटमा पुगिसकेको छ । उच्च अदालतको पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बन्दै छ ।

यसै गरी उहाँले हवाई उड्डयनमा  नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरि बनेको विधेयक अर्थ, कानुन मन्त्रालय हुँदै हाल मन्त्रिपरिषद्को विधेयक समितिमा पुगेसकेको बताए । साथै उनले भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि अन्तरमन्त्रालय स्तरमा काम भइरहेको जानकारी गराए ।

उनले अहिले प्रस्तावित छानविन समितिमा यस अघिका कार्यदलले बनाएका अध्ययन प्रतिवेदनहरूलाई रिफ्रेन्सका रूपमा लिएर अघि बढ्ने जानकारी गराए । उनले अध्ययनले दिएको प्रतिवेदन कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे ।

 मन्त्री पाण्डेले हवाई दुर्घटनाका विषयमा संसदमा समेत सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएर छलफल समेत भइसकेको बताए । मन्त्री पाण्डेले मन्त्रालय र मातहतका निकायमा संस्थागत र संरचनागत कुरामा सुधार गर्दै अघि बढिरहेको बताए ।

पर्यटन एवम अर्थतन्त्रबारे कलम चलाउने पत्रकारहरूसँग आवश्यक सूचना प्रदान गर्ने कुरामा कुनै कमजोरी नरहने समेत विश्वास व्यक्त गरे । छलफलमा राज्यमन्त्री अरुण कुमार चौधरीले मन्त्रालयले अघि बढाएका योजना एवम कार्यक्रमहरुलाई कर्मचारीहरुले प्राविधिक रुपमा सहयोग गर्न आग्रह गरे । उनले मन्त्रालय अन्तरर्गत उड्डयन क्षेत्र मात्र होइन विभिन्न महत्वपूर्ण निकाय रहेकाले प्रशस्त काम गर्नुपर्ने जिम्मेवारीमा आफूहरु रहेको बताए ।

पर्यटन सचिव डा.गणेशप्रसाद पाण्डेयले मन्त्रालय अन्तर्गतका विभिन्न निकाय एवम क्षेत्रको सुधारका लागि नीतिगत रुपमा काम गरिरहेको बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ३ : २२ बजे