Logo

विश्व

रुसले  युक्रेनमा आक्रमण गर्दा ५१ जनाको मृत्यु



काठमाडौं । रूसले युक्रेनी सहर पोल्टाभामा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ५१ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार यो आक्रमण दुई देशबीचको साढे दुई वर्षको युद्ध अवधिको सबैभन्दा घातक आक्रमण भएको हो । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त आक्रमणको निन्दा गरेका छन् । किभका अनुसार रूसले सैन्य प्रशिक्षण सुविधा तथा नजिकैको अस्पताललाई केन्द्रित गरी प्रहार गरेको हो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्दोश युक्रेनीको हत्या गर्ने ‘रूसी पक्षलार्ई जवाफदेही बनाउने वाचा’ गरेका छन् भने उद्धारकर्ताहरूले आक्रमणबाट प्रभावित भग्नावशेष हटाउने काम गरिरहेका छन् । 

आक्रमणबाट प्रभावित भवनको भग्नावशेषबाट मानिसहरूको ज्यान बचाउनका लागि यथाशक्य प्रयास गरिरहेको जेलेन्स्कीले बताएका छन् ।  

अमेरिकी राष्ट्रपति बाइडेनले किभको रक्षा गर्न आवश्यक हवाई रक्षा प्रणाली र क्षमताहरू प्रदान गरी सैन्य सहायता जारी राख्ने वाचा राखेका छन् ।  

यो गम्भीर घटनाप्रति अमेरिका, जर्मनी र बेलायत लगायतका देशले गम्भीर चासो व्यक्त गरेका छन् । 

बेलायती विदेश सचिव डेभिड ल्यामीले उक्त आक्रमणलाई घृणित कार्य भनेका छन् भने जर्मन विदेशमन्त्री एनालेना बेरबकले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रूरताको ‘कुनै सीमा नभएको’ बताएका छन् । 

मंगोलियाको भ्रमणपछि मंगलबार पुटिनले रूसको भ्लाडिभोस्तोकको यात्रा गरेको क्रेमलिनले जनाएको छ ।

पुटिनको मंगोलिया भ्रमण युक्रेनमा भएको युद्धसँग सम्बन्धित गिरफ्तारीको वारेन्ट जारी भएपछि अन्तर्राष्ट्रिय फौजदारी अदालतका सदस्यसँगको  पहिलो भ्रमण थियो ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  १ : १४ बजे