Logo

अर्थ

प्रधानमन्त्री राहत कोषमा करिब १५ अर्ब मौज्दात



काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावितका लागि संकलित सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा करिब १५ अर्ब रुपैयाँ पुगेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात रहेको छ ।

सरकारले बाढी प्रभावित क्षेत्रका लागि यसअघि कोषबाट एक अर्ब रुपैयाँ निकासा गरिसकेको छ ।

कार्यालयका अनुसार कोषको रकम विभिन्न नौ वटा वाणिज्य बैंकमा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ रहेको छ । यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर जम्मा भएको छ ।

भोटेकोसी बाढी प्रभावितका लागि विभिन्न व्यक्ति, संघसंस्था तथा व्यवसायिक क्षेत्रबाट आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ११ : ०९ बजे