संसार नै पछिल्लो समय तीव्र गतिमा डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेको छ । नेपाल यसबाट अछुतो हुने कुरै भएन । बैंकिङ कारोबारदेखि सेयर बजारसम्मका दैनिक आर्थिक गतिविधिहरू पूर्ण रूपमा इन्टरनेट प्रणालीमा आधारित हुन थालेका छन् । तर, यो प्राविधिक विकाससँगै नेपालको साइबर सुरक्षा प्रणालीमा देखिने गरेका पटक पटकका गम्भीर समस्याहरूले आम उपभोक्तालाई ठूलो सास्ती र जोखिममा पारेका छन् । आज मात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नियमित सेयर कारोबार स्थगित हुनु यसैको डरलाग्दो उदाहरण हो । ब्रोकर कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या आएको भन्दै आजको सम्पूर्ण कारोबार रोकिन पुग्यो । हाल सेयर बजारमा करिब ८० लाख भन्दा बढी सक्रिय सदस्यहरू टीएमएस (ट्रेड मेनेज्मेन्ट सिस्टम ) प्रत्यक्ष रूपमा जोडिएका छन् । बजारका कुल ९० मध्ये ७२ वटा ब्रोकर कम्पनीहरूको सर्भर एकैसाथ डाउन भएपछि नेप्सेले आज सूचना नै जारी गरी कारोबार रोकेको हो । यसले सिङ्गो पुँजी बजार नै ठप्प हुन पुग्यो ।
लामो समय ओरालो लागेको सेयर बजारप्रति विस्तारै लगानीकर्ताको आकर्षण बढ्न थालेको छ । अर्थमन्त्रालयले हालै मात्र पुँजी बजारमा सुधार ल्याउन कार्ययोजना तयार गरेको छ । त्यसपछि विस्तारै बजारले गति लिन थालेकै बेला फेरि लगानीकर्तालाई झस्काउने गरी आज कारोबार रोकिनु दुर्भाग्यपूर्ण हो ।
यसले लगानीकर्ताको करोडौँको कारोबार मात्र रोकेन, नेपालको डिजिटल वित्तीय पूर्वाधारको संवेदनशीलता र कमजोरीलाई फेरि एकपटक उदाङ्गो पारेको छ । सेयर बजार मात्र होइन, नेपालका सरकारी वेबसाइटहरू डाउन हुने, बैंकिङ प्रणालीहरूमा अनाधिकृत पहुँच पुग्ने र ढुकुटी नै जोखिममा पर्ने जस्ता साइबर सुरक्षाका प्रश्नहरू पटक पटक उठ्ने गरेका छन् । आज आम मानिसका हरेक आर्थिक कारोबार, रकमको मौज्दात, रकमान्तर र भुक्तानीका सबै प्रक्रियाहरू अनलाइन प्रणालीबाटै हुन्छन् । यस्तो अवस्थामा साइबर सुरक्षामा सामान्य चुक हुनु भनेको सर्वसाधारणको वर्षौँको कमाइ र राज्यको ठूलो धनराशि जोखिममा पर्नु हो । तर, यति गम्भीर र संवेदनशील विषयमा समेत राज्यका निकायहरुले उचित ध्यान दिन नसकेको प्रष्ट देखिन्छ ।
विज्ञहरुका अनुसार, नेपालमा साइबर सुरक्षाको अवस्था कमजोर हुनुमा मुख्यतः तीनवटा कारणहरू देखिन्छन् । पहिलो, गुणस्तरीय र सुरक्षित प्राविधिक पूर्वाधारको अभाव हो । ब्रोकर कम्पनी वा वित्तीय संस्थाहरूले प्रयोग गर्ने डाटा सेन्टर र सर्भरहरूको सुरक्षा अडिट नियमित रूपमा हुने गरेको छैन । ब्याकअप प्रणाली बलियो नहुँदा एउटा सेन्टरमा समस्या आउनासाथ सिङ्गो प्रणाली नै प्रभावित हुने गर्छ । दोस्रो, दक्ष जनशक्तिको अभाव र साइबर प्रणालीमा न्यून लगानी रहेको छ । साइबर सुरक्षा निकै महँगो र निरन्तर परिमार्जन भइरहनुपर्ने प्रक्रिया हो, जसमा राज्य र निजी क्षेत्र दुवैको लगानी बढाइनु पर्छ । अहिलेको लगानी त बालुवामा पानी हालेजस्तै भएको छ । तेस्रो र सबैभन्दा महत्त्वपूर्ण कारण भनेको सरकारको उदासीनता र फितलो कानूनी संयन्त्र हो । डिजिटल प्रणालीको सुरक्षा सरकारको प्राथमिकतामा नपर्दा यसको प्रत्यक्ष मारमा सर्वसाधारण उपभोक्ता परिरहेका छन् ।
आज नेप्से ठप्प हुँदा ब्रोकर र ठूला लगानीकर्ता मात्र होइन, आफ्नो सानो पुँजी परिचालन गर्न खोज्ने आम नागरिकको आर्थिक अधिकार हनन भएको छ । यदि समयमै सरकारले यसतर्फ ध्यान केन्द्रित गरेन भने भोलि वित्तीय प्रणालीमा आउने ठूलो साइबर आक्रमणले देशको अर्थतन्त्रलाई नै तहस नहस बनाउन सक्छ । अबको बाटो भनेको बोलीमा डिजिटल नेपाल भन्नु भन्दा व्यवहारमा यसलाई सुरक्षित बनाउनु हो । सरकारले तत्काल नेपालका सबै वित्तीय र रणनीतिक डाटा सेन्टरहरूको उच्चस्तरीय सुरक्षा अडिट गराउनु पर्छ । साइबर सुरक्षा सम्बन्धी कडा नीति र द्रूत कार्यदलको गठन गरी २४सै घण्टा निगरानी गर्ने संयन्त्र निर्माण गर्न आवश्यक छ । नागरिकको धन र संवेदनशीलता जोडिएको यस्तो गम्भीर विषयमा सरकारले उम्किने ठाउँ पाउँदैन । डिजिटल क्रान्तिको नारा लगाइरहँदा त्यसको जगमा रहेको साइबर सुरक्षाको पर्खाललाई बलियो बनाउनु नै आजको मुख्य आवश्यकता हो ।
५ आश्विन २०८३, सोमबार
138
Shares







प्रतिक्रिया