Logo

निर्वाचन विशेष

रास्वपाले चैत १७ मा इलाम-२ को उम्मेदवार सार्वजनिक गर्ने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ मा हुने निर्वाचनका लागि १७ चैतमा उम्मेदवार छनोट गर्ने भएको छ ।

निर्वाचन आयोगले १५ बैशाखमा इलाम-२ मा उपनिर्वाचन गर्ने जनाएको छ ।

‘१७ गते उम्मेदवार फाइनल गर्ने कुरा भएको छ । १६ गते पार्टीले निर्णय लिन्छ, अर्को दिन नाम सार्वजनिक गरिन्छ,’ रास्वपाका शीर्ष तहका एक नेताले जानकारी दिए ।

रास्वपाबाट उम्मेदवार बन्न आकांक्षीको संख्या ७ जनाको छ ।

रास्पवाले उम्मेदवार छनोट गर्दा प्राइमरी इलेक्सनको विधि नगर्ने भएको छ । कुल मतदाताको एक प्रतिशत पार्टी सदस्य नभएकाले प्राइमरी इलेक्सन हुन नसकेको रास्वपाले जनाएको छ ।

इलाम-२ मा एक लाख १८ हजार मतदाता छन् । प्राइमरी इलेक्सन गर्नका लागि एक हजार १८० पार्टी सदस्य हुनुपर्दछ ।

सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार प्राइमरी इलेक्सन गर्नका लागि एक प्रतिशत पार्टी सदस्य नभएकाले केन्द्रबाट नै उम्मेदवार तोक्न लागिएको हो ।

सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई निर्वाचन तयारीका लागि रास्वपाले इलाम-२ मा खटाएको छ । रास्वपाका ६ सांसद निर्वाचन क्षेत्रमा पुगेर मतदातासँग छलफल गरेर फर्केका छन् ।

इलाम २ मा इलाम नगरपालिकाको वडानम्बर १० बाहेकका सबै वडा, देउमाई नगरपालिका, माई नगरपालिकाको वडा नम्बर ६, ७ र ८, चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिका पर्दछन् ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  १२ : ५२ बजे