Logo

मुख्य समाचार

५० फिटको इनारमा खसेकी महिलाको चार घण्टापछि सकुशल उद्वार



काठमाडौं । काठमाडौँको बूढानीलकण्ठमा ५० फिट गहिरो इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ।

महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठ र विपद् व्यवस्थापन महाशाखा सामाखुशीको टोलीले बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ मित्रचोक बस्ने ४५ वर्षीय पेमा शेर्पालाई चार घण्टापछि उद्धार गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सोमबार दिउँसो २ः३० बाट हराएकी शेर्पाको साँझ ६ः३५ बजे इनारबाट सकुसल उद्धार गरिएको बताए।

उद्धार गरिएकी शेर्पा हरि श्रेष्ठको घरमा डेरा बस्दै आएकी थिइन्। ‘अचेत अवस्थामा रहेकी शेर्पालाई १७ जनाको प्रहरी टोलीले उद्धार गरेको हो, शेर्पाको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित करुणा अस्पतालमा उपचार भइरहेको छ’, उनले भने।

शेर्पा अहिले बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ९ : ५९ बजे