Logo

मुख्य समाचार

‘संसदमा जुहारी खेल्ने अभ्यासले समाज सही दिशामा जाँदैन’



काठमाडौं । माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसदमा एकआपसमा जुहारी खेल्ने, आरोपप्रत्यारोप गर्ने अभ्यासले समाजलाई सही दिशामा लैजान नसक्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदमा आपसमा आरोपप्रत्यारोप समाजका लागि हितकर नभएको भनाइ राखे । नयाँ पुस्ताले ठिक ढंगले बहस भइरहेको छ भनेर मूल्यांकन गर्न सक्नेगरि संसद भित्रको अभ्यास र नजिरहरुलाई स्थापित गर्नुपर्ने उनले बताए ।

उनले भने,‘समाज निराशाले घेरिएको छ । समाजले हामीप्रति धेरै ठूलो अपेक्षा गरेको छ । त्यसैले हामीले संसदमा एकआपसमा जुहारी खेल्ने एकले अर्कालाई खुइलाउने, आरोप प्रत्यारोप गर्ने यो अभ्यासले समाजलाई सही दिशामा लैजान सकिँदैन । हामीभन्दा पछिको सन्तानले संसदमा ठिक ढंगले बहस भइरहेको छ भनेर मूल्यांकन गर्न सक्नेगरि यो संसद भित्रको अभ्यास र नजिरहरुलाई स्थापित गर्नुपर्छ ।’

सडकमा चक्काजाम जस्तो आन्दोलनको स्वरुपलाई बदलेर रचनात्मक सृजनात्मक ढंगबाट सदनमा पनि संवादको वातावरण विकास गर्नुपर्ने धारणा उनले राखे । संसदलाई स्वस्थ बहसको थलोको रुपमा विकास गर्न उनले अपिल गरे ।

उनले भने,‘पक्ष विपक्षको सबैलाई म प्रधानमन्त्रीको पार्टीको तर्फबाट विनम्रका साथ भन्न चाहन्छु । यो चक्काजाम जस्तो आन्दोलनको स्वरुपलाई बद्लेर रचनात्मक सृजनात्मक ढंगबाट सडकमा आन्दोलन देख्न सक्छौं । सडकबाट भएका रचनात्मक सृजनात्मक शैलीलाई कमसेकम सदनमा हामीले विकास गर्नुपर्छ । त्यसैले यो संसदलाई बहसको थलोको रुपमा विकास गर्न म अपिल गर्न चाहन्छु ।’

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  १ : ०९ बजे