Logo

मुख्य समाचार

‘नीजि क्षेत्र र सरकारको सहकार्य आवश्यक’: बाबुराम भट्टराई



काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नीजि र राज्यको सहकार्यमा एउटा नीति बनाउन आवश्यक भएको बताएका छन् ।

आज नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ वार्षिक साधारण सभामा उनले संविधानले जुन दिशा निर्देश गरेको छ, त्यसैमा केन्द्रीत भएर एउटा बाटो अपनाउन पर्ने भन्दै यसमा नीजि र राज्यको सहकार्य आवश्यक भएको बताए ।

उनले भने, ‘हामीले जुन संविधान र आर्थिक नीति बनाएका छौं, त्यसले स्पष्ट दिशाबोध गरेको छ । तर हाम्रो बुझाईको एकरुपता छैन । संविधानमा नै के भनेको छ, हामीले नीजि क्षेत्र, बजार, राज्य र समुदाय यी तीन क्षेत्र सन्तुलन भूमिका भनेको छ । नीजि र राज्य क्षेत्रले सहकार्य नै गर्नुपर्छ । सबैले मन्थन गरेर एउटा हाम्रो बाटो के हो भनेर यसबारे एउटा नीति बनाउनु पर्ने थियो भन्ने मलाई लाग्छ । त्यसले संविधानले जुन दिशानिर्देश गरेको छ, त्यसैमा केन्द्रीत भएर एउटा बाटो नयाँ हामीले अपनाउन पर्ने हुन्छ ।’

यस्तै, उनले राजनीतिक र लोकतान्त्रिक स्थिरता भएन भने आर्थिक विकास र समृद्धि सम्भव नभएको भन्दै कृषि क्षेत्रको आधुनिकीकरण र उद्योग क्षेत्रको विकासको लागि स्थीर राजनीतिक नेतृत्व र ठोस आर्थिक नीति चाहिने बताए ।

उनले भने, ‘राजनीतिक, लोकतान्त्रिक स्थिरता भएन भने आर्थिक विकास र समृद्धि हुदैँन् । राजनीतिक, लोकतान्त्रिक स्थिरता भएन भने कुनै पनि देश विकास हुँदैंन । हरेक ६ महिनामा तीन पटक सरकार परिवर्तन गरेर कुन देश विकास भएको छ । यसको साथै कृषिलाई पनि यही रुपमा राख्ने हो भने पनि देश विकास हुदैँन् । कृषि, उद्योग र सेवाका जुन तीन वटा क्षेत्र हुन्छ । त्यसैले कृषि क्षेत्रको आधुनिकीकरण र उद्योग क्षेत्रको विकास भयो भने देश विकास हुन्छ । यसको लागि स्थीर राजनीतिक नेतृत्व र ठोस आर्थिक नीति चाहिन्छ ।’

अहिले आफ्नो सरकार आएको बेला आफ्नोलाई जोगाएर, अरुको भ्रष्टाचारी समात्ने काम भईरहेको भन्दै पूर्ण सुरक्षाका साथ सबैको सम्पत्ति घोषणा गर्नु पर्ने पनि उनको भनाई छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  १२ : ५० बजे