Logo

निर्वाचन विशेष

इलाम २ मा कांग्रेसलाई पहिले भन्दा सहज छ, चुनाव जित्छु : डम्बर खड्का


२३ चैत्र २०८०, शुक्रबार  

46
Shares

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका डम्बर खड्काले अघिल्लो पटक भन्दा यसपाली चुनाव जित्न सहज भएको दाबी गरेका छन् ।

शुक्रबार विहान नेपाली कांग्रेस इलाम–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले २०७९ को प्रतिनिधि सभा निर्वाचनमा भन्दा यस पटक कांग्रेसलाई प्रतिस्पर्धा गर्न सहज भएको बताए ।

६ जना आकांक्षीहरुलाई पछि पार्दै उपनिर्वाचनका लागि आधिकारीक उम्मेदवार बनेका खड्काले भने,‘अघिल्लो पटक राष्ट्रिय रुपमा स्थापित एमाले नेता सुवासचन्द्र नेम्वाङसँग चुनाव लड्नुपर्दा माहोल फरक थियो । अहिले इलामको भुगोल, अवस्थिति र मतदाताको मनोविज्ञान राम्रोसँग नबुझेका कम अनुभवी युवाहरुसँग चुनावमा प्रतिस्पर्धा गर्नुपर्दा केही सहज भएको छ,’ उनले अगाडि भने,‘यस पटक कांग्रेसलाई हार्ने छुट छैन् । मेरो काँधमा पार्टीको भविष्य छ । त्यसैले सबै एकजुट भएर चुनावी अभियानमा सक्रिय बन्नुपर्छ ।’

खड्कालाई सभापति शेरबहादुर देउवाले दोस्रोपटक अवसर दिएका हुन् । गत २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा खड्का एमाले उपाध्यक्ष नेम्वाङसँग झिनो मतान्तरले पराजित भएका थिए। नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए ।

कार्यक्रममा उम्मेदवारका आकांक्षी पूर्वराज्यमन्त्री केशव थापाले कांग्रेसलाई जिताउनुपर्ने बताए । अर्का आकांक्षी रमेश लिङदेनले अहिले इलामको चुनावी माहोल विगतको जस्तो नभएको उल्लेख गर्दै प्रशस्त मेहेनत गर्नुपर्ने औंल्याए । उनले भने, ‘इलाम २ को अवस्था अघिल्लो चुनावको जस्तो छैन । पहिचानको मुद्दा उठेकाले त्यसलाई सम्बोधन गर्न आवश्यक छ । कमीकमजोरी सच्याएर नयाँ रणनीतिका साथ अघि बढ्नुपर्ने अवस्था छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै आदिबासी जनजाती महासंघका पूर्वअध्यक्ष एवम सोही निर्वाचन क्षेत्रका लागि उम्मेदवारको आकांक्षी रहेका नगेन्द्र कुमालले कांग्रेस एकढिक्का भए चुनाव जित्न सहज हुने बताए । उनले भने,‘इलाम २ यस पटक गुमाउनै मिल्दैन । स्थानीय मुद्दालाई सम्बोधन गर्दै सबै एकढिक्का भएर चुनावी मैदानमा उत्रिनुपर्छ ।’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता परियार, प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, कांग्रेस नेता उमेशजंग रायमाझीलगायतले खड्कालाई शुभकामना दिएका थिए । नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रामा प्रवेश गरेका खड्का नेपाली कांग्रेस इलामका वर्तमान पार्टी सभापति हुन् । उनी सामाजिक काममा पनि सक्रिय छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १२ : ४८ बजे