Logo

मुख्य समाचार

कर्मचारीले दलको फेभरमा काम गर्न थालेपछि सार्वजनिक प्रशासन बिग्रियो : पूर्वसचिव नेपाल



काठमाडौं । पूर्वसचिव खेमराज नेपालले कर्मचारीहरूले दलगतरुपमा विभाजित भएर काम गर्न थालेपछि सार्वजनिक प्रशासन बिग्रिएर गएको टिप्पणी गरेका छन् । उनले निजामती कर्मचारीहरूले दलीय संगठनमा बस्न नहुने र पार्टीको फेभरमा पर्न नमिल्ने दाबी गरे ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा पूर्वसचिव नेपालले भने, ‘निजामती कर्मचारीलाई स्थायी सरकार भनिन्छ ।. त्यो कुनै दलको हुनुहुदैन । तर हाम्रा कर्मचारी ट्रेड युनियनका नाममा बाँडिएर दलविशेषका भएर बसेका छन् । उनीहरु आफ्नो पार्टीको लाइनमा चलेका छन्,’ उनले भने, ‘कर्मचारीले दलको फेभरमा काम गर्न थालेपछि सार्वजनिक प्रशासन राम्रो हुने कुरै हुदैन ।’

उनले संघीयता कार्यान्वयन र जनतामा विश्वास बढाउनका लागि तीन तहका सरकारले मिलेर जनताका समस्या समाधानमा केन्द्रीत हुनुपर्ने बताए ।

‘नागरिकहरु समस्या पर्दा काठमाडौं किन धाइरहेका छन्, सिहंदरबार भित्रै किन पस्न चाहन्छन् ? त्यसलाई मात्र हेरेर सम्बोधन गरिदियो भने नेपालको रुप फेरिन्छ,’ उनले भने, ‘गाउँ गाउँमा सिंहदरबार भनियो तर अहिले पनि चप्पल नलगाएका मान्छेहरु सिंहदरबारको गेटमा आउनुपरेको छ । यसको मूल्यांकन ग¥यो भने पनि स्पष्ट रुपमा थाहा हुन्छ कि अधिकार तल गएको छैन ।

अधिकार सिंहदरबार भित्रै छ ।’ उनले नागरिकको तहमा संघीयताको अनुभूति नै हुन नपाएको दाबी गरे ।
पूर्वसचिव नेपालले हरेक पटक सरकार फेरबदल हुँदा आफ्नो फेभरमा काम गराउने प्रवृत्ति हाबी हुँदा छिटो छिटो कर्मचारी सरुवा गरिदिने, र नतिजा नआउने अवस्था रहेको बताए ।

‘कुनै काम गर्नका लागि योजना बन्छ । बीचमा सचिव अर्कातिर हिड्छ । मन्त्री फेरिइसकेको हुन्छ । कामले पूर्णता पाएको देखिदैन,’ उनले भने, ‘सरकार फेरिनेबित्तिकै आफ्नो फेभरको कर्मचारी ल्याउनुपर्ने नेतृत्वको सोच छ । कर्मचारीले पनि त्यही गरेर बिकृतिलाई प्रोत्साहन गरिदिएका छन् ।’

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ८ : ५३ बजे