Logo

मुख्य समाचार

दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न सरकारले गर्यो समिति गठन


१६ चैत्र २०८०, शुक्रबार  

69
Shares

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले राखेको स्वचालित हतियारबारे छानबिन गर्न सरकारले समिति बनाएको छ । प्रसाईंले लाइसेन्स लिएर राखेको स्वचालित हतियारबारे छानबिन गर्न मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयले समिति बनाएको हो ।

समितिको संयोजकमा गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डे छन् । अन्य सदस्यहरुमा गृह मन्त्रालयको कानुन शाखाका उपसचिव ऋषि पौडेल, प्रहरीका एसपी सन्तोष भट्टराई र गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य सचिव छन् ।

गत चैत ५ गते दुर्गा प्रसाईंका दुई जना बडिगार्डलाई प्रहरीले सर्वोच्च अदालत परिसरबाट स्वचालित हतियार र १०० राउण्ड गोलीसहित पक्राउ गरेको थियो । लाइसेन्स लिएर हतियार बोक्दा प्रहरीले पक्राउ गरेको भन्दै पक्राउ परेका बडिगार्डद्वय दीपक खड्का र रामकुमार धिमालले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले चैत १३ मा उनीहरुलाई थुनामुक्त गर्न आदेश दिँदै लाइसेन्स लिएर समेत राख्न नमिल्ने स्वचालित हतियार कसरी प्रसाईंले लाइसेन्स प्राप्त गरे भन्नेबारे छानबिन गर्न आदेश दिएको थियो ।

सर्वोच्चको आदेशपछि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको हो । समितिले छानबिनको लागि १५ दिनको समय प्राप्त गरेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  १२ : १२ बजे