Logo

कर्पोरेट

कुमारी बैंकको वित्तीय साक्षरता भिडिओ श्रृंखला र पुस्तक सार्वजनिक



काठमाडौँ । कुमारी बैंकले वित्तीय साक्षरता प्रवर्द्धन र उद्यमीहरूलाई सशक्तिकरण गर्न महत्त्वपूर्ण कदम चालेको बताएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनाल तथा वरिष्ठ कलाकार दीपाश्री निरौलाको उपस्थितिमा बैंकले यसै बिहीबार आफ्नो वित्तीय साक्षरता भिडिओ श्रृंखला र पुस्तक एकैसाथ सार्वजनिक गरेको हो।

बैंकिङ सेवाहरूको विवेकपूर्ण उपयोगलाई प्रवर्द्धन गर्न गहिरो ध्यान केन्द्रित गर्दै, भिडिओ श्रृंखलाले व्यवसाय व्यवस्थापन, नगद प्रवाह व्यवस्थापन, बैंकिङ सुरक्षा र सही खाताहरू कायम राख्ने जस्ता अत्यावश्यक विषयहरूमा जोड दिएको छ।

बैंकले भिडिओ श्रृंखला र पुस्तकमार्फत् बैंकिङ सेवाको प्रयोग, व्यवसाय सुरू र सञ्चालन गर्ने प्रक्रिया, बैंकिङ सुरक्षा जस्ता धेरै विषयवस्तुमा केन्द्रित गरेको छ।

उक्त भिडिओ श्रृंखला र पुस्तक सहरी क्षेत्रमा मात्र केन्द्रित नभई ग्रामीण क्षेत्रमा आधारित साना तथा मझौला व्यवसायहरूलाई पनि ठूलो टेवा पुग्ने तथा यसबाट व्यवसायीहरूले लाभ उठाउन सक्ने देखिन्छ।

भिडिओ श्रृंखलामा दीपाश्री निरौला, दमन रुपाखेती, शिव शंकर रिजाल लगायतका कलाकारहरूको अभिनय रहेको छ भने उनीहरूको संलग्नताले ‘वित्तीय साक्षरता अभियान’ रचनात्मक बनाएको बैंकले बताएको छ।

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनालले वित्तीय साक्षरता र उद्यमशीलतालाई बढावा दिन कुमारी बैंकले सो कदम चलेको बताए।

यस पुस्तक र भिडिओ श्रृंखलाले व्यक्तिहरूलाई, विशेष गरी नव उद्यमीहरू, साना व्यवसायी आदिलाई शिक्षित र सशक्तिकरण गर्न टेवा पुर्‍याउने उनको भनाइ छ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको बैंकले आफ्ना ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ इकाइमार्फत् ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  १२ : १० बजे