Logo

मुख्य समाचार

एमाले अध्यक्ष ओलीको प्रश्न : ‘काठमाडौंका १० क्षेत्रमा १ मात्र कसरी जितियो ?’



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका निर्वाचन क्षेत्रहरुमा हार स्वीकार्य नहुने भन्दै पार्टी कार्यकर्तालाई संगठन निर्माणमा लाग्न निर्देशन दिएका छन् । नेकपा एमाले काठमाडौं जिल्ला कमिटिको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले काठमाडौंमा एमालेको प्रदर्शन कमजोर भएको भन्दै सुधार्न आवश्यक रहेको औंल्याए ।

उनले भने, राजधानीले सिंगो देशको प्रतिनिधित्व गर्छ । काठमाडौंमा हाम्रो प्रदर्शन कमजोर कसरी भयो ? कसरी असफतातिर गइरहेका छौं । यसबारे सोच्ने बेला आएको छ । यसका लागि अब हामी अघि बढ्नुपर्ने बेला आएको छ । काठमाडौंका १० क्षेत्रमध्ये एउटा मुस्किलले जित्यौं, यो स्थितिलाई अनिवार्य बदल्नुछ ।’ अध्यक्ष ओलीले एमालेका उद्देश्य, स्पष्ट विचार र गरेका कामकोप्रति पनि यो परिणाम सन्तोषजनक नरहेको बताए ।

पार्टीका प्रत्येक कार्यकर्ताले डायरी बोकेर आफूले संगठन र पार्टीका लागि गरेका कामहरुको नोट गर्नुपर्ने उनको निर्देशन थियो । त्यस्तै अध्यक्ष ओलीले देशमा उल्लेख्य रोजगारीको अवसर नभएको उल्लेख गर्दै भएको रोजगारीमा समेत श्रमशोषण भइरहेको उल्लेख गरे ।

उनले भने, ‘देशमा पर्याप्त रोजगारीका अवसरहरु प्राप्त नभइसकेको आवस्था छ र भएकोमा पनि श्रम शोषण भइरहेको छ । राज्यले तोकेको न्यूनतम पारिश्रमिकबाट नागरिक मुक्त छन् यो बारेमा सरकारले ध्यान दिन आवश्यक छ ।’ सबै चेतना र समृद्ध समाजको अभियानको नेतृत्व नेकपा एमालेले लिनुपर्ने अध्यक्ष ओलीको भनाइ छ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ३ : ५४ बजे