Logo

मुख्य समाचार

पत्रिकाको समाचार शीर्षकबाट फिल्मको नाम राख्थे देव आनन्द



मुम्बई । सन् १९२३ मा पञ्जाबको शकरगढ (जुन अहिले पाकिस्तानको हिस्सा छ) मा जन्मिएका बलिउडका ‘सदाबहार हिरो’ देव आनन्द सन् ७० देखि ८० को दशकमा हिन्दी फिल्मका लोकप्रिय अभिनेता थिए ।

विशेषत उनका महिला फ्यान उनीप्रति अत्यन्त आशक्त थिए । युवतीकै क्रेजका कारण उनलाई कालो कोट लगाउन पनि प्रतिबन्ध लगाइएको थियो । देव आफैं पनि फिल्मप्रति यति आशक्त थिए कि जीवनका अन्तिम समयमा पनि उनले फिल्म बनाउने काम जारी राखे ।

उनले अभिनय करियरको सुरुवात सन् १९४६ मा रिलिज फिल्म ‘हम एक हे’बाट गरेका थिए । तर उनले पहिचान भने सन् १९४८ मा रिलिज फिल्म ‘जिद्दी’बाट पाए । उनले आफ्नो ६५ वर्ष लामो फिल्मी करियरमा करिब १ सय १६ फिल्ममा अभिनय गरे । फिल्मसँग सम्बन्धित देवका किस्सा अहिले पनि उत्तिकै हिट छन् ।

फिल्मको नामसँग जोडिएको देवका किस्सा अझ रमाइला छन् । देव आफ्नो दमदार अभिनय र तेज दिमागका लागि चिनिन्थे । देव आफ्नो करियरको उच्च विन्दुमा रहँदा उनले आफ्ना फिल्मका नाम पत्रिकाको समाचार शीर्षकबाट लिन्थे । यसको पछाडि विशेष कारण थियो । देवको बुझाई पत्रिकाको समाचार शीर्षकबाट लिइएका नाममा आम मानिस जोडिन्छन् भन्ने थियो । उनको बुझाई सही साबित पनि हुन्थ्यो ।

पत्रिकाको समाचार शीर्षकबाट लिइएको नामका उनका धेरै फिल्म हिट पनि भएका थिए । आफ्ना फिल्म बक्सअफिसमा असफल हुँदै गएपछि देवले पत्रिकाको समाचार शीर्षकबाट फिल्मको नाम राख्ने शैली अपनाएका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ८ : ४० बजे