Logo

प्रवास

नेपाली आप्रवासी श्रमिकहरुका विषयमा चासो



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको नेपालस्थित कार्यालयका निर्देशक नुमान ओज्कानबिच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका अवसरमा केन्द्रीय श्रम सल्लाहकार परिषदबाट स्वीकृत भएको अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महासन्धी तथा प्रोटोकलहरुलाई अनुमोदन गर्ने सम्बन्धी कार्ययोजना, गन्तव्य मुलुकहरुसँगका द्विपक्षीय श्रम आप्रवासन सम्झौता, अन्तर्राष्ट्रिय श्रम संगठनमा गर्नुपर्ने नियमित र आवधिक प्रतिवेदनलगायतका विषयमा भएको प्रगतिका विषयमा छलफल भयो ।

साथै, श्रम क्षेत्रको औपचारिकीकरणका लागि कार्यान्वयन भइरहेको औपचारिकीकरणसम्बन्धी कार्ययोजना, रोजगार सेवा केन्द्रहरुको सुदृढीकरण, वाध्यकारी श्रम तथा वालश्रममुक्त स्थानीय तह घोषणा सम्बन्धी विविध विषयमा छलफल गर्नुका साथै दुई पक्षबीच सहकार्य गर्ने प्रतिवद्धता ब्यक्त भएको छ ।

भेटका अवसरमा आसन्न अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औ सत्रमा नेपालको सहभागितालाई सार्थक तुल्याउने विषयमा समेत छलफल भएको मन्त्री अर्यालको सचिवालयले जनाएको छ । सामाजिक न्यायका लागि विश्वव्यापी साझेदारीमा नेपालको सहभागिताको विषयमा निर्देशक ओज्कानले चासो व्यक्त गरे ।

भेटका क्रममा गन्तव्य मुलुकमा नेपाली आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चित गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो र आयमूलक वनाउने सम्बन्धमा सहकार्य गर्ने प्रतिवद्धता दुवै पक्षवाट व्यक्त भएको छ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनका मापदण्डहरुको आन्तरिकीकरणमार्फत् नेपालभित्रै मर्यादित श्रमको वातावरण सिर्जना गर्दै उत्पादनशील रोजगारी सिर्जना गर्न सहकार्य गर्ने विषयमा समान धारणा व्यक्त गरिएको छ । भेटका अवसरमा निर्देशक ओज्कानले नवनियुक्त मन्त्री अर्याललाई बधाई तथा शुभकामना दिए ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ५ : ०५ बजे