Logo

मुख्य समाचार

सामुदायिक र निजी शिक्षालयबीच समन्वयको खाँचो


१८ फाल्गुन २०८०, शुक्रबार  

115
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सामुदायिक र निजी शिक्षालयबीच समन्यवयको खाँचो रहेको बताएका छन् ।

राजधानीमा शुक्रबार साताव्यापी राष्ट्रिय बाल नाटक मेला २०८० उद्घाटन समारोहमा उनले शिक्षा प्रदान गर्ने संस्थाहरुले दक्ष र योग्य जनशक्ति उत्पादन गर्ने भएकाले दुवैका बालबालिकाबीच विभेद हुन नहुने बताएका हुन् ।

‘हाम्रो विद्यालय र पढाउने शैली निजीको पनि त्यही हो, र सरकारीको पनि । निजी र सरकारीका विद्यार्थी, सामुदायिक र नीजि क्षेत्र एकअर्का बीचको आत्मीयता र समन्वयको खाँचो रहेछ भन्ने मैले बुझेको छु,’ उनले भने । शिक्षा विद्यार्थीको वृत्तिविकासमा अनिवार्य भएकाले शिक्षालय जस्तो भए पनि व्यवसायिक शिक्षाको अनिवार्यतामा उनको जोड थियो ।

‘हामीले जागिर पाउने होइन काम गर्ने शिक्षाको विकास गर्नुपर्‍यो । हाम्रो सरकारी वा निजी विद्यालयमा पढेको विद्यार्थी काम खोज्न आउँदा के आउँछ भनेर सोध्ने हो भने काम गर्न केही पनि आउदैन । तर, पढेको भने छ,’ उनले भने, ‘त्यो पढेको सर्टिफिकेटहरु अहिलेको विद्यार्थीलाई भारी जस्तो भएको छ । त्यो लिएर गाउँ जाउँ परिवारको बेइजत, सहर बसौं बाँच्नै गाह्रो । अनि त्यो तिमीले पढेको भाषा जहाँ प्रयोग हुन्छ त्यहीँ जाउ भनेर पठाएको जस्तो अवस्था छ ।’

विद्यार्थीहरु ब्रोइलर कुखुराजस्तो नभएर पढेपछि केही गर्ने क्षमता विकसित भएको हुनुपर्ने उनले बताए । ‘बोइलरलाई मर्ने दिनसम्म पनि अरुले चारो हाल्नुपर्छ, आफंै खोजेर खानै सक्दैन, हेर्दा मात्र ठूलो देखिन्छ । हाम्रो शिक्षामा यति ठूलो लगानी छ । तर कहाँनिर समस्या छ, त्यो खोजौं,’ उनले भने ।

मुलुकको राजनीति ठिक भयो भने सबै क्षेत्रको लय उचित हुने तर्क उनले राखे । त्यसका लागि सबैले सधै निरन्तर खबरदारी गरिरहनुपर्ने उनले बताए । शिक्षामा भइरहेको लगानीका अनुपातमा योग्य र दक्ष जनशक्ति उत्पादनमा सबैको जोड हुनुपर्ने उनले औंल्याए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ७ : १४ बजे