Logo

मुख्य समाचार

रुपात्रेय शान्ता पुरस्कार दधिराजलाई



विराटनगर । छ दशकदेखि नेपाली साहित्यका अनेक विधामा कलम चलाउँदै आएका समालोचक दधिराज सुवेदीलाई पाचौँ संस्करणको रुपात्रेय शान्ता पुरस्कार प्रदान गरिने भएको छ ।

३१ हजार १११ रुपैयाँसहितको २०८० सालको उक्त पुरस्कार सुवेदीलाई प्रदान गरिने भएको हो । रुपात्रेय बालकृष्ण–शान्ता वाङ्मय प्रतिष्ठानका अध्यक्ष मुनाल पोखरेलको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो ।

सुवेदी केही समयदेखि शारीरिक अस्वस्थताले घरमै आराम गरिरहेका छन् । फागुन १२ गते भाषाशास्त्री बालकृष्ण पोखरेलको पाचौँ स्मृति दिवसको सन्दर्भ पारेर सुवेदीकै निवासमा कार्यक्रमको आयोजना गरी उक्त पुरस्कार प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ ।

उक्त पुरस्कार यसअघिका विभिन्न चार संस्करणहरूमा क्रमशः साहित्यकारहरू कुन्ता शर्मा, सोमराज अभय, रोचक घिमिरे, चूडामणि रेग्मीलाई प्रदान गरिएको प्रतिष्ठानका सचिव चूडामणि नेपाल ‘अकिञ्चन’ ले बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ३ : २८ बजे