Logo

मुख्य समाचार

आवधिक योजनामा सरकारलाई निर्देशन दिने तयारी



काठमाडौं । राष्ट्रिय सभाको सरोकार तथा समन्वय समितिले १६औं आवधिक योजना (२०८१÷८२–२०८५÷८६) तर्जुमा सम्बन्धमा प्राप्त सुझावका आधारमा सरकारलाइ निर्देशन दिने भएको छ ।

समितिको सोमबार बसेको बैठकले आवधिक योजनाको मस्यौदा उपर प्राप्त सुझाव, विकास प्रयासमा देखिएका मूलभूत सवाल तथा चुनौती, योजनाको विशेषता, योजनाका प्रमुख हस्तक्षेपकारी कार्यक्रम, योजना तर्जुमा सम्बन्धमा अगामी क्रियाकलाप लगायतका विषयमा छलफल गर्दै सरकारलाई निर्देशनको रुपमा पठाउने तयारी गरेको हो । 

समिति सभापति दिलकुमारी रावल थापाले उल्लिखित विषयका प्रत्येक बुँदाहरुमा समिति सदस्यहरुबाट प्राप्त सुझावहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन दिने जानकारी दिइन् ।

उनले भनिन्, ‘सोह्रौं योजना तर्जुमाको सन्दर्भमा विषयविज्ञ, निजी क्षेत्र लगायतबाट आएका सुझावहरुका आधारमा यसलाई अझै वस्तुनिष्ट बनाउनका लागि यो सुझाव नेपाल सरकालाई पठाउँछौं ।’ प्राप्त सुझावहरु  सरकारलाई निर्देशनका रुपमा पठाउनुपर्ने भएकाले उनले समितिका सदस्यहरुलाई बुँदा बुँदा अध्ययन गरेर सुझावहरु पठाउन आग्रह गरिन् ।

सरकारले आवधिक योजना कार्यान्वयनमा लगिरहेकाले १६औं योजनाको थप प्रभावकारी कार्यान्वयनका लागि थप सुधार आवश्यक रहेको उनले बताइन् । 

योजनामा जनताले दैनिक रुपमा भोगिरहेका समस्याको समाधान हुने र जनताले पाउने सेवा सुविधालाई थप सहज बनाउने गरी समग्रतामा उल्लेख गरी कार्यान्वयन योग्य लक्ष्य प्राप्तिको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गर्नुपर्ने माग अधिकांश सांसदहरुले राखेका थिए ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ४ : ५२ बजे