Logo

मनोरञ्जन

भारतीय संसदमा ‘द भ्याक्सिन वार’



मुम्बई (दैनिक जागरण) । बलिउड निर्देशक विवेक अग्निहोत्रीको फिल्म ‘द भ्याक्सिन वार’ गत सेप्टेम्बर २०२३ मा रिलिज भएको थियो । ‘द कश्मीर फाइल्स’को सफलता पछि निर्देशक अग्निहोत्रीलाई यो फिल्मप्रति धेरै आशा थियो, तर आशा अनुरुप फिल्म बक्सअफिसमा जम्न सकेन । अब यो फिल्मलाई देशको संसदमा देखाइने भएको छ ।

विवेकले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो फिल्म संसदमा देखाइन लागिएको जानकारी दिएका छन् । उनले एक भिडियो क्लिप शेयर गर्दै सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘वाह ! बिहान–बिहान त राम्रो खबर छ । म सबै वैज्ञानिकका लागि खुशी छु ।’

विवेक यो फिल्मबाट धेरै आशावादी थिए । यद्यपि फिल्म रिलिज हुँदा बक्सअफिसमा अत्यन्तै न्यून व्यापार गर्यो । फिल्मले देशभरमा करिब १० करोडमात्र व्यापार गरेको थियो । ‘द भ्याक्सिन वार’ कोभिड–१९ महामारीका समयमा भारतले आफ्नो भ्याक्सिन बनाएको कथामा आधारित छ । फिल्ममा आईसीएमआर र एआईवीका वैज्ञानिक र डाक्टरहरुले भ्याक्सिन बनाउन गरेको संघर्षलाई देखाइएको छ ।

फिल्ममा अनुपम खेर, नाना पाटेकर, राइमा सेन, सप्तमी गौडा र पल्लवी जोशीको अभिनय छ । यो फिल्म हिन्दीसहित अन्य कैयौं भाषामा रिलिज भएको थियो ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ९ : ०३ बजे