Logo

मुख्य समाचार

लोकतान्त्रिक समाजवादमार्फत् जनताको जीवनस्तर उकास्न बहस आवश्यकः राष्ट्रपति



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सोसल डेमोक्रयाटिक पार्टी अफ जर्मनी (एसपीडी) का पूर्वअध्यक्ष तथा फ्रेडरिक एबर्ट स्टिफ्टुङ (एफइएस) का अध्यक्ष डा.मार्टिन शुल्जले शिष्टाचार भेटवार्ता गरेका छन् ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल सामाजिक न्यायसहितको लोकतन्त्रलाई सुदृढ गर्न लागिरहेको र यसैको माध्यमबाट लोकतान्त्रिक समाजवादतर्फ अघि बढ्ने प्रयत्न भइरहेको बताए ।

उनले नयाँ नयाँ प्रविधिको वर्तमानयुगमा कसरी लोकतान्त्रिक समाजवादमार्फत् नेपालजस्तो मुलुकमा जनताको जीवनस्तर माथि उठाउन सकिन्छ भन्ने सम्बन्धमा एफइएसजस्तो संस्थाले वैचारिक बहस चलाउनुपर्ने पनि बताए ।

राष्ट्रपति पौडेलले नेपालीहरूले लामो संघर्ष र बलिदानपछि आफ्नो संविधान आफैं बनाएको र उक्त संविधानले समाजवादनजिक पुर्याएको बताउँंदै त्यसैमार्फत् लोकतन्त्रलाई अझ सुधार गरेर जनताको हितमा कसरी लगाउने भन्नेमा प्रयत्नशील रहेको स्पष्ट पारे ।

उनले नेपाल र एफइयसबीच यसबारेमा गहिरो छलफल र विमर्श आवश्यक रहेको बताउँंदै यसमा आपसी सहयोगको खाँचो औँल्याएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

सो अवसरमा डा. शुल्जले नेपालको संविधान अत्यन्त प्रगतिशील र उदाहरणीय रहेको उल्लेख गर्दै नेपालमा लोकतन्त्र सुदृढीकरणको साक्षी बन्न एफइएस नेपालमा स्थापना भएको हुनाले यसका लागि हरतरहका सहयोग विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ३ : २९ बजे