Logo

मनोरञ्जन

श्रीदेवी फकाउन अमिताभको फूल वर्षा !



मुम्बई । अभिनेता अमिताभ बच्चन र दिवंगत अभिनेत्री श्रीदेवी कुनै समयमा भारतीय फिल्मका सबैभन्दा लोकप्रिय स्टार थिए । त्यो समयमा अन्य कलाकार आफ्नो करियरलाई अगाडि बढाउनका लागि अमिताभका साथ स्क्रिन सेयर गर्न चाहन्थे । यद्यपि श्रीदेवी चाहिँ अमिताभका साथ सहायक चरित्र ननिभाउनेमा अडिग थिइन् । उनी महिला केन्द्रीत फिल्मको हिस्सा हुन चाहन्थिइन् । सन् १९९२ मा रिलिज फिल्म ‘खुदा गवाह’का लागि श्रीदेवीलाई फकाउन अमिताभले निकै पापड बेल्नु परेको थियो ।

सत्यार्थ नायकले एक पुस्तक ‘श्रीदेवीः द इटरनल स्क्रीन गडेस’ लेखेका छन् । उक्त पुस्तकमा दिवंगत कोरियोग्राफर सरोज खानले श्रीदेवी र अमिताभको किस्साको बारेमा खुलासा गरेकी थिइन् । सरोज एक गीतमाथि काम गरिरहेकी थिइन्, त्यही बेला श्रीदेवीमाथि अमिताभले फूलको वर्षा गराएका थिए । ‘जब ट्रक आयो, हामी एक गीत खिचिरहेका थियौं । उनले श्रीदेवीलाई ट्रकको अगाडि उभ्याए र पूरा क्यारियर झुकाएर उनीमाथि गुलाबको फूल वर्षाए । यो निकै भिजुअल थियो’, सरोजले पुस्तकमा भनेकी छन् । अमिताभको यो शैलीले श्रीदेवीलाई निकै प्रभावित बनायो ।

तर उनी अझै पनि आश्वस्त थिइनन् किनकी उनका लागि गर्नका लागि धेरै केही थिएन । तर पनि उनले एक शर्त राखिन् कि उनी अमिताभका साथ एक फिल्ममा अभिनय गर्नेछिन्, जहाँ उनी अमिताभको पत्नी र छोरी दुवैको भूमिका निभाउनेछिन् । फिल्म निर्माता मनोज देसाई र मुकुल आनन्दले उनको अगाडि हार माने । यसरी दुवै स्टार ‘खुदा गवाह’मा एकसाथ अभिनय गरे । जुन फिल्म सुपरहिट भएको थियो । ‘खुदा गवाह’ अघि रमेश सिप्पीले आफ्नो फिल्म ‘राम की सीता श्याम की गीता’ मा श्रीदेवी र अमिताभलाई साइन गराएका थिए ।

फिल्ममा दुवैको दोहोरो भूमिका थियो । यहाँसम्म कि चार्टबस्टर गीत ‘जुम्मा चुम्मा’ लाई यो फिल्ममा राखिएको थियो । ‘यो सिक्वेन्समा अमिताभ एक प्रहरी बनेका थिए र उनले एक पाकेटमार युवती अर्थात श्रीदेवीलाई रंगेहात पक्रेका थिए । त्यसपछि श्रीदेवीले अमिताभलाई ‘के म तपाईंलाई घुस दिन सक्छु ?’ भनी सोध्छन्, तर अमिताभ श्रीदेवीको चुम्बन चाहन्छन्’, सरोजले भनेकी छन् ।

तर यो फिल्म कहिल्यै फ्लोरमा गएन र पछि यो गीत सन् १९९१ मा रिलिज फिल्म ‘हम’मा अमिताभ र किमी काटकरलाई जुर्यो । अमिताभ र श्रीदेवी पछिल्लो पटक सन् २०१२ मा रिलिज फिल्म ‘इङ्लिश विङ्लिश’मा देखिएका थिए । जहाँ श्रीदेवीले शीर्ष भूमिका निभाएकी थिइन् भने अमिताभ विशेष भूमिकामा थिए ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ९ : ०३ बजे