Logo

कर्पोरेट

नबिल बैंकले ल्यायो दक्ष प्रवासी उद्यमशील कर्जा योजना



काठमाडौं । नबिल बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको छ । बिहीबार बैंकले काठमाडौंमा उक्त कर्जा योजनाको शुभारम्भ गरेको हो ।

वैदेशिक रोजगारीमा गएर सीप सिकी नेपाल आएका युवाहरूलाई प्रोत्साहन गर्न दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको बताइएको छ । बैंकले स्वदेशमा उद्यम गर्न चाहने प्रवासी नेपाली र उनीहरूको परिवार लक्षित १० करोड रूपैयाँसम्मको कर्जा सुविधा ल्याएको छ । बैंकले न्यूनतम १५ लाख रूपैयाँदेखि १० करोड रूपैयाँसम्मका सुविधा र विभिन्न चरणमा विभाजन गरी कर्जाको सीमा समेत तोकेको छ ।

बैंकले कृषि, हस्तकला तथा साना उद्यमी गर्ने प्रवासी नेपालीलाई १५ लाख रूपैयाँको कर्जा समेत प्रदान गर्नेछ । बैंकले लगानी थप गरी उद्योग विस्तार गर्न चाहनेलाई १५ लाख रूपैयाँदेखि एक करोड रूपैयाँसम्म कर्जा दिने योजना ल्याएको हो ।

बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहज बनाउन बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना अभियान चलाएको बताए । उनले विदेशबाट नेपालीहरूले धेरै प्रकारका सीप, पुँजी लिएर आएकाले उनीहरूलाई रोजगारी र उद्यमशिलतामा ल्याउन सके देशको आर्थिक अवस्थामाथि उठ्न सक्ने बताए ।

प्रवासी नेपालीहरूले विदेशमा सिकेर आएको सीप प्रयोग गरेर दिगो रूपमा रोजगारी तथा उद्यम गर्नसक्ने वातावरण नविल बैंकले योजना ल्याएको पौडेलको भनाइ छ । उनले दक्ष प्रवासी उद्यमशील कर्जा योजनाबाट बैंकले धेरै नाफा कमाउने उद्देश्य नल्याएको जानकारी दिए ।

उनले विदेशमा सिकेर आएको सीप प्रयोग गरेर स्वदेशमा नै उद्यम गर्ने र रोजगारी सिर्जना हुने अपेक्षाले यो योजनाअघि सारेको पनि बताए ।

बैंकका कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले विदेशमा गएका नेपाली श्रमिकहरूले नविल बैंकको कर्जा योजनाले औपचारिक क्षेत्रबाट रेमिट्यान्स भित्र्याउन प्रोत्साहन गर्ने दाबी गरे । उनले औपचारिक रूपमा रेमिट्यान्स आउँदा आर्थिक रूपमा देशको अर्थतन्त्रमा टेवा पुग्नेगरी योजना ल्याएको बताए ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ५ : २१ बजे