Logo

मुख्य समाचार

आजदेखि सहिद सप्ताह सुरु, शास्त्रीको शालिकमा माल्यार्पण



काठमाडौं । आजदेखि सहिद सप्ताह सुरु भएको छ । पहिलो दिन आज काठमाडौं महानगरपालिकाले एक कार्यक्रम गरी सहिद शुक्रराज शास्त्री र उनका योगदानलाई सम्झिएको छ ।

उपमेयर सुनिता डंगोलसहित महानगरका अधिकारीहरुले टेकुको पचलीस्थित शास्त्रीको शालिकमा स–सम्मान माल्यार्पण गरेका छन् । उपमेयर सुनिता डंगोलले शास्त्रीको योगदान नेपाली राजनीतिमा मात्र नभएर नेपाली र नेपाल भाषाको साहित्यमा पनि उत्तिकै रहेको बताइन् ।

कार्यक्रममा नगरबासीले सहिद शास्त्रीलाई स्मरण गरे, उनको त्याग र बलिदानीप्रति सम्मान अर्पण गरे ।

नेपाली जनताको स्वतन्त्रता, राष्ट्र निर्माण र आम नागरिकको हक अधिकार र मुक्तिको लागि आफ्नो ज्यानको आहुति दिने सहिदहरुको सम्झनामा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिन्छ ।

नागरिकको हक हितका लागि तत्कालिन व्यवस्थाविरुद्ध विद्रोह गर्दा वि.स. १९९७ माघ १० गते टेकुको पचलीमा रहेको खरीको बोटमा झुण्डाएर शास्त्रीको हत्या गरिएको थियो ।

शास्त्रीलाई झुण्ड्याइएको रुख भएको ठाउँमा नै बुधबार महानगरपालिकाले श्रद्धाञ्जली सभा गरेको हो । सरकारले सहिद शुक्रराज शास्त्रीको सम्झनामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सञ्चालन गरेको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ११ : ३० बजे