Logo

Breaking News 1

चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षा गर !



काठमाडौं । पछिल्लो समय चिकित्सकमाथि आक्रमणका घटना बढ्न थालेका छन् । साउन २५ गते हेटौंडाको सञ्चो अस्पताल, गत सोमबार लमजुङ अस्पताल र पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि भएका आक्रमणले गम्भिर प्रश्नचिन्ह खडा गरिदिएको छ ।

पछिल्ला तीनवटै घटनामा विरामीका आफन्तले चिकित्सकमाथि आक्रमण गरेका हुन् । पोखरा र हेटौंडामा उपचाररत बिरामीको मृत्यु भएपछि चिकित्सकको लापरबाहीले विरामीको मृत्यु भएको आरोप लगाएर उपचारमा संलग्न चिकित्सकमाथि आक्रमण भएको छ ।

पोखराको मणिपाल अस्पतालमा त चिकित्सकमाथि आक्रमण मात्रै होइन, अस्पतालजस्तो संवेदनशिल स्थानमा तोडफोड समेत भएको छ । यसको मुख्य कारणका रुपमा सरकारले सुरक्षा व्यवस्था मिलाउन नसक्नु त छँदैछ, दोषीलाई कारबाहीको प्रक्रियामा ल्याउन नसक्नु समेत कारणका रुपमा देखिएको छ ।

अर्कातिर गम्भिर अपराधमा संलग्नलाई समेत संविधान र कानूनमा रहेका कतिपय व्यवस्थाको गलत अर्थ लगाएर सरकारले नै माफी मिनाहा दिने क्रम बढिरहेकाले समेत आक्रमणको घटना बढ्न थालेको विष्लेषण समेत हुन थालेको छ ।

अस्पतालमा कार्यरत चिकित्सकहरुमा पनि पोखरामा रेजिडेन्ट चिकित्सकमाथि नै आक्रमण भएको छ । अस्पतालहरुमा आकस्मिक उपचारमा खटिने आवासीय चिकित्सकहरुकै कारण विरामीले सहज रुपमा उपचार पाइरहेका छन् ।

विषेशज्ञ चिकित्सक निश्चित समय र ‘अनकल’मा अस्पतालहरुमा उपलब्ध हुने भएपनि आवासीय चिकित्सकहरु २४ सै घण्टा उपचारमा संलग्न हुने गरेका छन् । तर तिनै चिकित्सकमाथि आक्रमणका घटना बढ्न थालेपछि भने विरामीले सहज रुपमा उपचार नपाउने आशंका समेत बढेको छ ।

अर्कातर्फ चिकित्सक भगवान होइनन्, रोग पहिचान गरेर सम्भव भएसम्म उपचार गरेर निको बनाउने मानिस हुन् भन्ने बुझ्न नसक्दा समेत चिकित्सकमाथि आक्रमणका घटना बढिरहेका छन् । यसैले सरकारले मौजुदा ऐन कानूनको कडाईका साथमा कार्यान्वयन गरेर उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षा गर्नु दायित्व समेत हो ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ८ : ५० बजे