काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका तराइका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ जसका कारण सो भू-भागहरूमा तातो हावा र लू चलिरहेको अवस्था छ ।
पहाडी भू-भागहरुका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। तसर्थ, अत्याधिक गर्मी तथा मेघ गर्जन र चट्याङ्गबाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रतिक्रिया