काठमाडौं । ग्यास लिकपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई सभामुख देवराज घिमिरेले भेटेका छन् ।
बत्तिसपुतलीस्थित निवासमा भेट्न पुगेका सभामुख घिमिरेले घटनाबाट आफू दुखित भएको बताउँदै भण्डारीको शीघ्र स्वास्थ्य लाभको कामना गरे । भेटमा सांसद भण्डारीले आफूले नीति तथा कार्यक्रममा आफ्ना केही कुराहरु राख्न चाहेको बताएका छन् ।
उनले भने,‘सम्माननीयज्यू, नीति तथा कार्यक्रममाथिको छलफलका सहभागी भएर आफ्ना कुरा राख्न मन छ । घटनापछि मलाई केही कुराहरु सदनमार्फत जनतालाई सुनाउन मन छ । जीवन जतिबेलासम्म रहे पनि कमसेकम मनका कुरा भनौं भन्ने लागेको छ ।’
जवाफमा सभामुखले चिकित्सकको सिफारिस भयो भने विशेष व्यवस्था गरेर बोल्ने व्यवस्था मिलाउने बताएका छन् । जवाफमा सभामुले भने,‘जीवन रहे बोल्ने अवसर त आइहाल्छ । अहिले स्वास्थ्यको राम्रो ख्याल गर्नुहोला ।’
२०७९ फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्याँस लिक भई आगलागी हुँदा भण्डारी गम्भीर घाइते भएका थिए । फागुन ४ गते श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो । मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार गराएर भण्डारी वैशाख १७ गते काठमाडौं आएका थिए । आमा हरिकला भण्डारीको भने उपचारका क्रममा फागुन ४ गते कीर्तिपुरमा निधन भएको थियो।
प्रतिक्रिया