Logo

Breaking News 1

अनुसन्धानमा सहयोग गर !



काठमाडौं । अहिले नेपालको राजनीति नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न पक्राउ पर्न थालेपछि यसकै वरिपरी फन्को लगाइरहेको छ । यस्ता भ्रष्टाचारजन्य काम नेपालमा अरु धेरै नभएका होइनन् । यहाँसम्मकी कोरोना संकटका बेला खरिद गरिएको स्वास्थ्य सामग्री खरिद प्रकरणमा समेत भ्रष्टाचार भएको आरोप लागेको थियो । तर तत्कालिन सरकारले यसबारे चासो समेत देखाएन ।

अहिले भने नक्कली भुटानी शरणार्थी प्रकरणले राजनीति तरंगित बनेको छ । राजनीतिक दलका प्रभावशाली नेताहरु पक्राउ पर्न थालेपछि सरकारको प्रशंशा भइरहेको छ । कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परिसकेको भएपनि एमाले सचिव टोपबहादुर रायमाझी भने अझै फरार छन् । उनी कहाँ छन् प्रहरीले भेउ पाउन सकेको छैन । तर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भने सम्पर्कमै रहेको संकेत स्वयं ओलीले नै गरेका छन् ।

बिहिबारबाट शुरु भएको एमाले केन्द्रीय कमिटि बैठकमा सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले रायमाझी प्रहरीसामु आफै उपस्थित हुने सूचना समेत सार्वजनिक गरे । तर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि भने अध्यक्ष ओलीले ’उपप्रधानमन्त्री र एमालेको सचिबजस्तो मान्छेलाई बाटैबाट पक्राउ गर्नु रहस्यमय र षड्यन्त्र भएको’ भन्दै प्रधानमन्त्रीलाई भेट्न पुगे । उनले त्यसबेला त्यत्रो नेता भागेर जान्छ, लुक्छ र बाटैबाट समाउनुपर्ने ? भन्ने प्रश्न समेत गरेका थिए ।

यसरी माथिल्लो नेताले नै खुल्लमखुल्ला काखी च्यापेपछि अनुसन्धान गरिरहेको प्रहरी अलिकति हच्किनु स्वाभाविक भयो । काठमाडौं आएपछि पक्रिने भन्नेमा प्रहरी पुग्यो होला । तर, रायमाझी भागे । भोलिपल्ट सञ्चारकर्मीलाई ओलीको जबाफ थियो, ’तपाईंहरू नै खोज्नुहोस्, उहाँ मेरो सम्पर्कमा हुनुहुन्न’ । अझ एमालेकै एक नेताले त संसदमा उभिएर टोपबहादुर कहाँ हुनुहुन्छ, सरकारले जबाफ दिनुपर्यो भन्नसमेत भ्याए ।

रायमाझीका बारेमा यस्तो धारणा सार्वजनिक गरेको एमालेको केन्द्रीय कमिटि बैठकले लडाकु शिविरमा भएको अनियमितता छानविन गर्न सरकारसँग माग गरेको छ । शिविरमा भएको अनियमितता छानविनको माग गर्नु स्वभाविकै होला । तर आफ्नै सचिव फरार रहेकाबारे खास नबोलेको एमालेले सरकारलाई पहिला सहयोग गर्नुपर्ने दायित्व भने बिसिएजस्तो गर्नु आफैमा विरोधाभासपुर्ण देखिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ९ : ०२ बजे