Logo

खेलकुद

मेसी र रोनाल्डोको टिमले एक-अर्कासँग खेल्ने



काठमाडौं । फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जनवरी १९ मा साउदी अरेबियाको क्लबद्वय अल नासर र अल हिलालका खेलाडी सम्मिलित टिमसँग मेत्रीपूर्ण खेल्ने भएको छ।

पिएसजीले सोमबार साउदी अरेबियामा मैत्रीपूर्ण खेल खेल्ने पुष्टि गरेको समाचार एजेन्सी एएफपीले लेखेको छ।

पिएसजीमा अर्जेन्टाइन सुपरस्टार लिओनल मेसी र अल नासरमा पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो आबद्ध भएकाले खेललाई चासोका साथ लिइएको छ।

कतारको लगानी रहेको पिएसजी जनवरी १७ मा दोहा जाने छ। त्यसको दुई दिनपछि साउदीको राजधानीमा रहेको किंग फहद रंगशालामा पिएसजी र साउदी टिमबीच खेल हुनेछ। खेलमा मेसी र रोनाल्डो फेरि आमनेसमाने हुने अपेक्षा गरिएको छ।

गत डिसेम्बरमा कतार भएको फिफा विश्वकपको उपाधि जितेपछि मेसी गत साता पिएसजीको प्रशिक्षणमा फर्किएका थिए। आगामी फेब्रुअरीमा ३८ वर्ष पुग्न लागेका रोनाल्डो हालै साउदी क्लब अल नासरमा आबद्ध भएका थिए। सन् २०२५ सम्मका लागि उनी २ सय मिलियन युरोमा अल नासरमा आबद्ध भएका थिए।

फ्रान्सेली प्रशिक्षक रुडी गार्सियाको प्रशिक्षणमा रहेको अल नासरमा रोनाल्डोको आगमनसँगै साउदी अरेबियाले ग्रीस र इजिप्टसँग मिलेर सन् २०३० को विश्वकप आयोजना गर्ने सम्भावित संयुक्त प्रस्तावअघि देशको फुटबल माहोललाई विश्वव्यापी बनाउन खोज्दैछ। रोनाल्डो र मेसीले विगत १५ वर्षदेखि विश्व फुटबलमा आफ्नो प्रभुत्व जमाउँदै आएका छन्। १५ वर्षको बीचमा १२ वर्ष मेसी वा रोनाल्डोले वर्षको उत्कृष्ट फुटबल खेलाडीको अवार्ड जितेका छन्।

यस्तै स्पेनिस क्लब बार्सिलोनाबाट मेसीले तथा रियल म्याड्रिडबाट रोनाल्डोले खेल्दा दुई जनाले नौ वर्ष एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेका थिए। साउदीको रियादका क्लबद्वय अल हिलाल र अल नासर साउदी अरेबियाका दुई सबैभन्दा सफल क्लब हुन् । सन् २०११ मा कतारले क्लब किनेपछि पिएसजी जाडो याममा कतार जाने गर्छ। तर यसपटक भने उसले साउदी पनि भ्रमण गर्न लागेको हो।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १२ : २० बजे