Logo

Breaking News 1

उपेन्द्र यादव र राजेन्द्र लिङ्देन देउवासँग संवादमा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा पुस २६ गते विश्वासको मत लिने तयारी गरेका छन्।सात दलको समर्थनमा पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले संसदमा विश्वासको मत लिने तयारी गरिरहेका बेला उनलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका दुई दलका अध्यक्षहरूले भने सत्ता गुमाएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संवाद गरिरहेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले पछिल्ला दिनहरूमा देउवासँग संवाद गरिरहेका छन्।

संसदमा राप्रपाका १४ र जसपाका १२ सांसद छन्। प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरे पनि यी दुबै दल सरकारमा सहभागी छैनन्।

सरकारमा सहभागी हुनका लागि राप्रपाले पुस २७ गते पृथ्वीजयन्तीका दिन बिदा दिने कुरा न्यूनतम साझा कार्यक्रममा समेट्नु पर्ने, उपप्रधानसहित चार मन्त्रालय पाउनु पर्नेलगायत सर्त राखेको छ।

अहिलेको सत्ता गठबन्धनमा यस्ता सर्त राखिरहेको राप्रपाले प्रतिपक्षी कांग्रेससँग पनि संवाद गरिरहेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निकट स्रोतका अनुसार कांग्रेससँग विभिन्न प्रस्तावमा छलफल भइरहेको छ।

राप्रपाका एक उच्च पदाधिकारीका अनुसार कांग्रेसले राप्रपालाई अहिलेको गठबन्धन छोडे केन्द्र सरकारमा उपप्रधानमन्त्री, बागमती प्रदेशमा मुख्यमन्त्री र अन्य पदहरूमा सहमति गर्न सक्ने प्रस्ताव पठाएको छ। बागमती प्रदेशमा राप्रपाका १३ सांसद छन् भने काग्रेसका ३७ सांसद छन्। ११० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५६ सांसद चाहिन्छन्।
‘विभिन्न विषयमा कांग्रेससँग हाम्रो छलफल भइरहेको छ,’ राप्रपाका ती पदाधिकारीले भने,‘हेरौं छलफल कसरी अघि बढ्छ।’
यसैबीच पछिल्लो समय कांग्रेसले राप्रपा अध्यक्ष लिङ्देनलाई प्रधानमन्त्री अफर गरेको चर्चा पनि चलेको छ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भने राप्रपालाई अहिले प्रधानमन्त्री अफर गर्नु अस्वाभाविक हुने भएकाले त्यस्तो राजनीति कांग्रेसले नगर्ने बताए।
यता जसपा अध्यक्ष उपन्द्र यादव भने देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका छन्। बिहीबार उनले देउवासँग छलफल गरेका थिए। धुम्बाराही भेटमा देउवारयादवबीच के-के विषयमा कुराकानी भयो भन्ने सार्वजनिक भएको छैन।
जसपा नेताहरूका अनुसार यादव अहिले आफ्नो पार्टीबाट उपराष्ट्रपति बनाउने लबिङमा छन्। यादव बारा-२ बाट निर्वाचित सांसद रामसाहय प्रसाद यादवलाई उपराष्ट्रपति बनाएर आफू त्यो क्षेत्रमा उपनिर्वाचन लड्न चाहन्छन्।

त्यसका लागि अहिले आफूले समर्थन गरेको प्रचण्ड सरकारलाई विश्वासको मत नै नदिने गरी यादवले देउवासँग कुराकानी गरेका हुन् कि सहयोग मात्र मागेका हुन् भन्ने खुलेको छैन।

उसो त यादवले प्रचण्डसँग समेत उपराष्ट्रपतिका लागि सहयोग मागेका छन्।

‘अध्यक्षज्यूले आफ्ना कुरा कसैलाई भन्नुहुन्न, हामीले बुझेअनुसार उहाँले संसदीय दलका नेता रामसाहयप्रसाद यादवलाई उपराष्ट्रपति बनाउन चाहनुभएको छ। त्यसका लागि उहाँ जुनसुकै सहमति गर्न पनि तयार हुनुहुन्छ,‘जसपाका एक जना कार्यकारिणी सदस्यले भने ‘उहाँले प्रचण्डसँग पार्टी एकता गर्न सकिनेसम्मको कुरा राखेर उपराष्ट्रपतिमा सघाउन भन्नुभएको छ।’

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  १२ : ०९ बजे