Logo

निर्वाचन विशेष

रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए



भैरहवा । रुपन्देही ३ बाट राप्रपाका वरिष्ठ नेता दिपक बोहरा विजयी भएका छन् । गृहमन्त्री बालकृष्ण खाण सहित २२ जना उम्मेदवार रहेका यो क्षेत्रमा ३६ हजार सात सय १७ मत ल्याई बोहरा विजयी भएका हुन् । खाणको हारसँगै रुपन्देहीमा सत्ता गठबन्धनको प्रतिनिधि सभामा क्लिन स्विप भएको छ ।
सत्ता गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीको समर्थनमा उम्मेदवार बनेका कांग्रेसका खाण ३४ हजार ३६ मत ल्याए भने एमाले, राप्रपा र जसपाको तालमेलबाट उम्मेदवारी दिएका बोहरा दुई हजार ६ सय ८१ मतले विजयी बनेको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिए ।
रुपन्देहीको पाँच क्षेत्रमध्ये सबै भन्दा ढिलो यसै क्षेत्रको मतगणना भएको छ । सबैको चासोको विषयमा रहेको यो क्षेत्रमा ९३ हजार ६ सय ६७ जनाले मतदान गरेका थिए ।
३६ वटा वडा रहेको रुपन्देही ३ मा सुरुवाती चरणबाटै खाणले अग्रता कायम गरे पनि शुक्रबारदेखि उनी पछाडि पर्दै गइरहेका थिए । ०७४ को चुनावमा कांग्रेससँगै तालमेल गरी उम्मेदवार बनेका बोहरा अहिले कांग्रेसकै उम्मेदवारलाई हराएका हुन्  ।
यस्तै, प्रदेशसभा २ तर्फ १६ हजार ३ सय ९४ मतका साथ एमालेका तुलसी चौधरी विजयी भएका छन्  । तीन दलीय तालमेलबाट उम्मेदवार बनेका चौधरी दुई सय एक मतान्तरले विजयी बनेका हुन । उनलाई गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकै राम चन्द्र ढकालले पछाइरहेका थिए, ढकालले १६ हजार एक सय ९३ मत ल्याए । खसेको ४९ हजार पाँच  सय तीन मतमध्ये दुई  हजार १ सय ५२ मत बदर भएको थियो ।
१५ पदका लागि २ सय ३ जनाको उम्मेदवारी परेको रुपन्देहीको सबै क्षेत्रमा प्रत्यक्ष तर्फको मतगणना सकिएको छ । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका रुपन्देहीमा प्रतिनिधी सभामा कोही पनि निर्वाचित हुन सकेनन । क्षेत्र नम्बर १ मा एमालेका छविलाल विश्वकर्मा, क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेल, क्षेत्र नम्बर ३ मा राप्रपाका दिपक बोहरा, क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादीका सर्वेन्द्रनाथ शुक्ला र क्षेत्र नम्बर ५ बाट एमालेकै बासुदेव घिमिरे निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ५ : २९ बजे