Logo

निर्वाचन विशेष

म्याग्दीमा थपिए आठ मतदान स्थल



म्याग्दी । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा आठ मतदान स्थल थप गरिएको छ । जिल्लामा मतदाताको सङ्ख्या ८६ हजार एक सय २० कायम भएको छ ।

भौगोलिकरूपमा विकट, अपायक भएका र मतदाता सङ्ख्या बढी भएका ठाउँमा मतदानस्थल र केन्द्र थपिएका हुन् । जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले थपिएका सहित म्याग्दीमा ८२ मतदानस्थल र एक सय १९ मतदान केन्द्र कायम भएका जानकारी दिए । गत स्थानीय तह निर्वाचनमा ७४ मतदान स्थलमा एक सय १४ केन्द्र थिए । धवलागिरि, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा दुई–दुईवटा मतदानस्थल थपिएका हुन् । धवलागिरि गाउँपालिका–४ बगरको कैलाश आधारभूत र वडा नं ७ धारापानीको चन्द्रकुन्ता किसानी माबीमा मतदानस्थल कायम भएको छ ।

मङ्गला गाउँपालिका–१ पूर्णगाउँको राष्ट्रिय जनजागृति मावि र वडा नं ५ सिर्कुमको किसानी आधारभूत विद्यालयमा पनि मतदानस्थल थपिएको छ । रघुगङ्गा गाउँपालिका–२ खौरेटाको राममन्दिर सामुदायिक स्वास्थ्य केन्द्र र वडा नं ३ पातल्नाको हिमालय आधारभूत विद्यालयमा मतदानस्थल थपिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्रमा रहेको पोखरेबगर आधारभूत विद्यालय र वडा नं ८ को काफलडाँडा आधारभूत विद्यालयमा पनि मतदानस्थल थप भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदानस्थल थपिएपछि भौगोलिकरूपमा विकट क्षेत्रमा अवस्थित सिम्कोस, बगर, नाउराका बासिन्दालाई मतदानका लागि दुईदेखि तीन दिन समय खर्चनुपर्ने समस्या हटेको छ । कैलाश आधारभूत मतदान केन्द्रमा एक सय ५७ मतदाता कायम छन् ।

आसन्न चुनावका लागि ४२ हजार ५५ पुरुष, ४४ हजार ६४ महिला र एक तेस्रोलिङ्गी मतदाता कायम छन् । गत स्थानीय चुनावमा ८५ हजार तीन सय ७५ मतदाता रहेकामा ५६ हजार चार सय ५६ मत खसेको थियो । स्थानीय तह चुनावपछि थपिएकालाई जोड्दा, बसाइँ सराइ गरेका र दिवङ्गत भएकाको नामावली अद्यावधिक गरेर मतदाता सङ्ख्या काम गरिएको हो । स्थानीय तहको चुनावपछि सात सय ४५ मतदाता थपिएका हुन् ।

बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदानस्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा (क) मा ४८ हजार चार सय ७२, मङ्गला, मालिका र धवलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा (ख) मा ३७ हजार छ सय ४८ मतदाता छन् । बेनी नगरपालिकामा २२ हजार एक सय ८५, अन्नपूर्णमा १२ हजार ६८, धवलागिरिमा १० हजार आठ सय ३७, मालिकामा १३ हजार तीन सय ३४, मङ्गलामा १३ हजार चार सय ७७ र रघुगङ्गा गाउँपालिकामा १४ हजार दुई सय १९ मतदाता कायम छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १० : २२ बजे