खोटाङ । खोटाङमा दैनिकजसो डेंगुका बिरामी भेटिन थालेका छन् । गत भदौ १४ गते यता जिल्लामा २३ जनालाई डेंगु पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । एकैदिन तीन–चार जनासम्म डेंगुका बिरामी भेटिन थालेका छन् । शनिबार मात्र चार जनालाई डेंगु पुष्टि भएको छ ।
कुल संक्रमितमध्ये १२ पुरुष र ११ महिला छन् । ३ वर्षदेखि ७९ वर्षसम्मका स्थानीय बिरामी डेंगुबाट संक्रमित भएको पाइएको छ । जिल्लाका १० स्थानीय तहमध्ये अधिकांश बिरामी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५ जनालाई, साकेला गाउँपालिकाका ३ जना, ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र रावाबेँसी गाउँपालिकाका एक/एक जनालाई डेंगु पुष्टि भएको छ ।
परिक्षणका क्रममा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ का २५ वर्षकी महिलालाई पनि डेंगु देखिएको छ । डेंगु संक्रमित बिरामीलाई उच्च ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने र आँखा पछाडिको भाग दुख्ने लगायतका लक्षण देखिने गरेको जिल्ला अस्पतालका डा. नितु लामाले बताइन् ।
सिकिस्त अवस्थाका बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचारको प्रवन्ध मिलाइएको छ । शरीरमा सेतो रगत कम भएका १५ वर्षका एक बिरामीलाई भने अन्यत्र रेफर गरिएको अस्पतालले जनाएको छ । यो सिजनमा खोटाङमा विगतका वर्ष पनि डेंगुका बिरामी भेटिने गरेको छ ।
प्रतिक्रिया