Logo

कला/साहित्य

गीतिनाटक ‘सपना अनेक अनेक’ को मञ्चन थप एक हप्ता


२४ श्रावण २०७९, मंगलबार  

391
Shares

काठमाडौं । साउन ५ गतेदेखि मञ्चन भएको गीतिनाटक ‘सपना अनेक अनेक’को मञ्चन अवधि थपिएको छ ।

वरिष्ठ रंगकर्मी अशेष मल्लको परिकल्पना तथा निर्देशनमा तयार भएको गीतिनाटक दर्शकहरुको विशेष आग्रहमा थपिएको मल्लले बताए ।

विधाको हिसाबले गीतिनाटक नयाँ प्रयोग भएपनि दर्शकको उत्साहजनक सहभागिताले उर्जा मिलेको मल्लले बताए । यो नाटकसँगै सर्वनाम थिएटरले कोभिडपछि आफ्नो हल सञ्चालनमा ल्याएको हो ।

हाउसफूल दर्शकहरुको साथ पाइरहेको नाटक गीता खत्रीको खण्डकाव्य ‘आमा हुन् आमा’मा आधारित रहेर मल्लको परिकल्पना तथा निर्देशनमा तयार भएको हो । सर्वनामले चार दशकको इतिहासमा पहिलो पटक गीतिनाटक प्रस्तुत गरेको हो । गीतिनाटकमा वरिष्ठ संगीतकार राजु सिंहको संगीत तथा चर्चित गायक सत्यराज आचार्य र वानिका प्रधानको स्वर रहेको छ ।

गीतिनाटकमा सर्जकको काव्यिक भाव र तिनको समग्र प्रभावलाई केन्द्रविन्दुमा राखेर बिम्ब र प्रतीकलाई चित्रात्मकता दिने कोसिस गरेको निर्देशक अशेष मल्ल बताउँछन् ।

नेपाली संगीतको हरेक विधामा तीन दशकदेखि कर्म गर्दै आएका संगीतकार राजु सिंहले सपना अनेक अनेकमार्फत संगीतकारको भूमिका निर्वाह गर्न पाउँदा खुशी व्यक्त गरे ।

‘प्रस्तुत गीतिनाटकमार्फत् पूर्ण संगीतकार भएको महसुस गरेको छु । गर्व पनि लागिरहेको छ । यसले नेपाली गीतिनाटकमा विशेष योगदान पु¥याउने विश्वास लिएको छु’, उनी भन्छन्, ‘दर्शकको उत्साहजनक सहभागिताले यो नाटक आफ्नो सांगीतिक यात्रामा कोशेढुगांको रुपमा कायम भएको छ ।’

गायक सत्यराज आचार्यले गीतिनाटकमा आफू पनि सहभागी हुन पाउँदा खुशी लागेको बताए । ‘यो गीतिनाटकका गीतहरू गाउँदा मलाई गीत हैन जीवन बाँचेको अनुभूति भयो । धेरै गीतहरू गाएँ । प्रायः हर दिन गीत गाइरहेकै हुन्छु । तर सँधै गाउने भन्दा नितान्त र बेग्लै प्रवाहको यो गायनले मलाई अझै पनि तरङ्गित बनाइरहेको छ’, आचार्यले भने, ‘संगीतकारसँग सहकार्य गर्दै, निर्देशकको परिकल्पनालाई कोरियोग्राफर हुँदै कलाकारका अभिनयसम्म पुगेको यो प्रस्तुतिमा साँच्चै नै नवीतम प्रयोग भएको छ ।’

विदेश पुग्न सपना बुन्नेहरू, विदेशको माटोमा पुगेपनि आफ्नै देशको यादले रात दिन तड्पिरहेका हुन्छन् । त्यो एउटा प्रतीक हो । चाहे जुनसुकै मुलुकमा पुगेपनि आफ्नै माटो र आफ्नै आमाको मायाले पिरोलिरहन्छ । आमा अर्थात् नेपाल आमा । आमाको त्यो विम्व नै नाटकको सार हो ।

गीतिनाटकमा कोरियोग्राफी प्रमिला कार्की उप्रेतीको रहेको छ भने मनोज महर्जन, भावना उप्रेती, रविना परियार, धिरज थापा, मिलन शाक्य, निरीक्षा घतानी, शूँ–गूको अभिनय रहेको छ ।

मञ्चन अवधि थपिएसँगै गीतिनाटक यही २८ गतेसम्म बिहीबारबाहेक हरेक दिन साँझ ५ः३० बजे र शनिबार अतिरिक्त शो दिउँसो १ बजे मञ्चन हुनेछ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ९ : ५० बजे