Logo

मुख्य समाचार

पहिरोले नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध


१७ श्रावण २०७९, मंगलबार  

253
Shares

काठमाडौं । लगातारको वर्षाका कारण पहिरो खसेर नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध छन् ।

सोमबार राति ११ बजेदेखि सडक अवरुद्ध भएका हुन् । नारायणगढ-मुग्लिन सडकअन्तगर्तको भरतपुर महानगरपालिका-२९ केराबारी र सत्रकिलोमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ ।

ईच्छाकामना गाउँपालिका-६ को २ र ३ नम्वर पुलको बीचमा खसेको पहिरो पन्छाएर सकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन विष्टले जानकारी दिए ।

पृथ्वी राजमार्गअन्तर्गत ईच्छाकामना-३ कुरिनघाटमा बिहान ८ः५० बजे खसेको पहिरो पन्छाउने काम सुरु भएको उनले बताए । पहिराले राजमार्ग दुवैतर्फ अवरुद्ध भएको छ । लोडरको प्रयोग गरेर बाटो खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको टोलीले सडक विभागसँग समन्वय गरी बाटो खुलाउने प्रयास गरेको हो । लगातार पानी परिरहेकाले अन्य स्थानमा पनि पहिरो जाने जोखिम रहेकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले सुझाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ९ : ३२ बजे