Logo

मुख्य समाचार

सरकारले नयाँ नागरिकता विधेयक संसदमा दर्ता गरायो, थपघट के-के भयो ?



काठमाडौं । सरकारले नागरिकता ऐन माथिको नयाँ संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरकारले शुक्रबार राति नै नयाँ नागरिकता विधेयक संसदमा दर्ता गराएको हो ।

सरकारलेशुक्रबार दिउँसो प्रतिनिधि सभाबाट २०७५ सालमा संसदमा पेश भएको नागरिकतासम्बन्धी ऐन माथिको संशोधन विधेयक फिर्ता लिएको थियो । नेपाली नागरिकसँग विदेशी महिलाले विवाह गरेमा नागरिकता पाउने पुरानै व्यवस्थालाई यथावत् राख्ने गरी विधेयक दर्ता गरिएको हो ।

नागरिकता ऐनको दफा ५ मा अंगीकृत नेपाली नागरिकता प्राप्त गर्ने आधार छ । यसमा भनिएको छ, ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष निवेदन दिनु पर्नेछ । निवेदन दिँदा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्धको र आफूले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पेस गर्नुपर्छ ।

’सरकारले ०७५ मा ल्याएको विधेयकमा ‘नेपालको नागरिकता प्राप्त गरेको मितिले ६ महिनाभित्र विदेशको नागरिकता परित्याग गरेको निस्सा पेश गर्नुपर्ने’ प्रावधान प्रस्ताव गरिएको थियो ।

त्यसलाई संशोधन गरेर राज्यव्यवस्था समितिले ‘विवाह गरेर नेपालमा निरन्तर सात वर्षसम्म स्थायी बसोबास गरेको हुनुपर्ने’ प्रावधान पारित गरेको थियो ।

सरकारले शुक्रबार दर्ता गरेको विधेयक भने यसबारेमा मौन छ । यसमा कुनै संशोधन नगरेका कारण ऐनकै प्रावधान कार्यान्वयन हुँदा विवाह गरेपछि नागरिकता पाउने आधार यथावत् रहेको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १० : ०८ बजे