Logo

अर्थ

नीति निर्माणमा सीएको सुझाव व्यवहारिक हुन्छ : गभर्नर अधिकारी



काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीले चार्टर्ड एकाउण्टेण्ट (सीए) को संख्या बढ्दै जानु देशका लागि महत्त्वपूर्ण हुने बताएका छन् । काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेण्ट्स संघको कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

उनले देशको नीति निर्माण तथा आर्थिक समस्याको विषयमा चार्टर्ड एकाउण्टेण्टको सुझावले अलग महत्त्व राख्ने बताए । ‘हामी विभिन्न पक्षसँग सल्लाह सुझाव लिइरहेका हुन्छौँ । त्यसमा पनि चार्टर्ड एकाउण्टेण्टको सुझाव व्यवहारिक हुन्छ, नीति बनाउन र कार्यान्वयन गर्न सहज हुन्छ । तपाइँहरू कार्यक्रम बनाउनुहोस् हाम्रो साथ तपाइँहरूलाई सधैँ रहने छ,’ गभर्नर अधिकारीले भनेका छन् ।

यस क्रममा नेपाल चार्टर्ड एकाउन्टेण्ट्स संघ (एक्यान)को नयाँ कार्यसमिति पदाधिकारी तथा सदस्यहरूलाई गभर्नर अधिकारीले शपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा बोल्दै संघका नवनिर्वाचित अध्यक्ष दीपक पाण्डेले अर्थसम्बन्धी समस्या भएमा त्यसको समाधानका लागि चार्टर्ड एकाउन्टेण्ट्स संघ छलफल गर्न सधैँ तयार रहेको बताएका थिए ।

पाण्डेको नेतृत्वमा संघको नयाँ कार्यसमितिमा सुशील घिमिरे उपाध्यक्ष रहेका छन् । यस्तै महासचिवमा प्रदीप सिग्देल, कोषाध्यक्षमा वर्ष बराल, चयन भएका छन् ।

सदस्यहरूमा पृथ्वी पुन मगर, सुजन सुवेदी, विवेकराम भण्डारी, शंकर अर्याल, मिसन महत र अस्मिता त्रिपाठी चयन भएका छन् ।

गभर्नर अधिकारीले बुधबार नक्सालस्थित एक होटलमा एक्यानको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए । देशभर चार्टर्ड एकाउण्टेण्टहरूको संख्या ३ हजारभन्दा बढी रहेको बताइन्छ । तीमध्ये २८ भन्दा धेरै एक्यानमा आवद्ध रहेको अध्यक्ष पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ९ : ३४ बजे