नेपालको स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानका लागि पटक–पटक निर्णायक संघर्षको नेतृत्व गरेको मुलुकको जेठो राजनीतिक शक्ति नेपाली काँग्रेस अन्त्यहिन कलहमा फसेको छ । सधै आन्तरिक विवादको भुमरीमा अल्भिएको कांग्रेसको भूमिका राष्ट्रिय राजनीतिक खुम्चिँदै गएको छ । इतिहासले देशलाई बाटो देखाउन जिम्मेवारी दिएको पार्टी आफ्नै बाटो पहिल्याउन नसक्ने अवस्थामा पुग्नु केवल काँग्रेसका लागि होइन, समग्र लोकतान्त्रिक व्यवस्थाकै लागि दुभाग्र्य हो ।
काँग्रेसको कलह कुनै एउटा दलको क्षति मात्र होइन, देशको लोकतान्त्रिक शक्ति सन्तुलनमा परेको दरार हो । तर विडम्बना, पार्टीका नेताहरूले यस गम्भीर यथार्थलाई आत्मसात् गर्न सकेका छैनन् । व्यक्तिगत प्रतिष्ठा, गुटगत स्वार्थ र नेतृत्वको दाबीमा अल्झिएको काँग्रेस जनताको विश्वास जित्ने अवसर गुमाउँदै गएको छ ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति नेतृत्वमा आएको काँग्रेसलाई निर्वाचन आयोग र सर्वोच्च अदालतबाट प्राप्त मान्यताले नयाँ राजनीतिक अध्यायको आधार तयार गरेको छ । पार्टीभित्रको विवाद पूर्णरूपमा समाधान भइसकेको छैन, तर त्यसको समाधान खोज्ने बाटो पनि बन्द भएको छैन । शेरबहादुर देउवा पक्षका भनिएका कतिपय नेताहरूले अझै गगन नेतृत्व स्वीकार गर्न नसक्नुले समस्या थप जटिल बनाएको छ । नेतृत्व परिवर्तन हुँदा असहमति हुनु लोकतान्त्रिक दलमा अस्वाभाविक होइन । तर असहमति र अराजकता एउटै कुरा होइनन् । विधि र प्रक्रियामार्फत असहमति समाधान गर्ने संस्कार लोकतन्त्र हो । नेतृत्व स्वीकार नगर्ने नाममा पार्टीलाई विभाजनको दिशातर्फ धकेल्नु भने लोकतान्त्रिक संस्कारको उपहास हो ।
अझ गम्भीर प्रश्न त के हो भने, गएको निर्वाचनमा गगन थापाको हस्ताक्षरबाट टिकट लिएर चुनाव लडेका कतिपय नेताहरू नै अहिले उनको नेतृत्वविरुद्ध सबैभन्दा बढी तमासा गरिरहेका छन् । हिजो टिकट लिँदा नेतृत्वको हस्ताक्षर स्वीकार्य हुने, आज त्यही नेतृत्वको वैधानिकता अस्वीकार्य हुने यस्तो दोहोरो चरित्रले राजनीतिप्रतिको जनविश्वासलाई कमजोर बनाउँछ । नेतृत्वसँग असहमति राख्ने अधिकार सबैलाई छ । तर आफूलाई अनुकूल हुँदा नेतृत्वको निर्णय स्वीकार्ने र प्रतिकूल हुँदा त्यही नेतृत्वलाई अस्वीकार गर्ने प्रवृत्तिले पार्टीभित्रको नैतिक धरातल कमजोर बनाउँछ । राजनीतिमा अवसर लिनु र जिम्मेवारी बहन गर्नु एकअर्काबाट अलग विषय होइनन् ।
शेरबहादुर देउवा नेपाली काँग्रेसका अनुभवी नेता हुन् । पार्टी सभापति र प्रधानमन्त्रीका रूपमा उनले लामो समय नेतृत्व गरेका छन् । पार्टी निर्माणमा उनको योगदानलाई अस्वीकार गर्न मिल्दैन । तर योगदानको सम्मान गर्नु र वर्तमान राजनीतिक परिस्थितिको सही मूल्याङ्कन गर्नु फरक विषय हुन् । देउवाले आफ्नो अनुभवलाई पार्टी एकताको आधार बनाउनुपर्ने हो, विवादको केन्द्र होइन । उनकै नाममा फेरि अर्को समानान्तर गतिविधि अघि बढाउने प्रयास भइरहेको देखिन्छ । यसले देउवाको व्यक्तिगत राजनीतिक विरासतलाई समेत प्रश्नको घेरामा पार्छ । पार्टीभित्रको असन्तुष्ट समूहको नेतृत्व गरेर पुरानै शक्ति संरचना जोगाउने प्रयासले काँग्रेस बलियो हुँदैन । बरु पार्टी थप खुम्चिन्छ ।
बलियो काँग्रेस निर्माण गर्ने गतिलो मौका देउवाले गुमाउँदै छन् । पार्टीको नेतृत्वमा रहँदा होस् वा नेतृत्व हस्तान्तरणको चरणमा, उनको प्राथमिकता काँग्रेसलाई संस्थागत रूपमा बलियो बनाउने हुनुपथ्र्यो । तर अहिले देखिएको गतिविधिले पार्टीलाई एकताबद्ध गर्नेभन्दा गुटगत ध्रुवीकरणलाई प्रश्रय दिएको देखिन्छ । देउवाले प्रष्ट बुझ्नपर्ने के हो भने कुनै पनि नेताको राजनीतिक उचाइ पार्टीको सामूहिक शक्ति र जनविश्वासभन्दा अग्लो हुँदैन । आफ्नो पक्षमा रहेका केही नेताको राजनीतिक समर्थनलाई सम्पूर्ण काँग्रेसको जनमत ठान्नु गम्भीर भूल हुनेछ ।
आगामी असोज ३ गतेदेखि गगन नेतृत्वको काँग्रेस वडा अधिवेशनमा जाने तयारीमा छ भने देउवा पक्षले अर्कै मिति तोकेको समाचार सार्वजनिक भएको छ । एउटै पार्टीका दुई पक्षले छुट्टाछुट्टै अधिवेशनको बाटो रोज्नु आफैंमा गम्भीर राजनीतिक संकटको संकेत हो । अधिवेशन पार्टीको लोकतान्त्रिक अभ्यास हो, शक्ति प्रदर्शनको माध्यम होइन । एउटै पार्टीभित्र दुईवटा अधिवेशनको अभ्यास अघि बढ्नु भनेको कार्यकर्तालाई अन्योलमा पार्नु, संगठनलाई विभाजित गर्नु र पार्टीको वैधानिक तथा राजनीतिक अस्तित्वलाई कमजोर बनाउनु हो ।
यदि अधिवेशन नै दुईतिरबाट सञ्चालन हुने हो भने कार्यकर्ता कसको पक्षमा जाने ? पार्टीको आधिकारिक संरचना कुन हुने ? निर्वाचन आयोगमा दर्ता भएको दलको नेतृत्व र संगठन कुन आधारमा चल्ने ? यस्ता प्रश्नको जवाफ नदिई अघि बढ्ने कुनै पनि कदमले काँग्रेसलाई थप अन्योलमा पार्नेछ । जनताले राजनीतिक दलबाट विधि, प्रक्रिया र जिम्मेवारीको अपेक्षा गर्छन् । काँग्रेसले आफ्नै संगठनभित्र विधिको सम्मान गर्न सकेन भने उसले अरूलाई लोकतन्त्रको पाठ पढाउने नैतिक आधार कसरी जोगाउन सक्छ ?
यस्तो अवस्थामा काँग्रेसभित्र विकसित भइरहेका नयाँ राजनीतिक समीकरणले भने एकताको सम्भावनाको संकेत दिएका छन् । पूर्णबहादुर खड्का गगन पक्षसँग मिलिसकेको अवस्था र डा. शेखर कोइराला पक्ष पनि नजिकिँदै गएको परिस्थितिले एउटा महत्वपूर्ण सन्देश दिन खोजेको प्रतीत हुन्छ । स्वार्थबाट वशीभूत मुठ्ठीभर नेताहरुले एउटा कुरा के बुझ्नु जरुरी छ भने काँग्रेसभित्र विभाजनभन्दा एकताको चाहना बलियो छ । यो अवसरलाई नेतृत्वले गम्भीरतापूर्वक लिनुपर्छ । असन्तुष्ट पक्षलाई अपमान गरेर होइन, संवादमा ल्याएर मात्र पार्टी एकता सम्भव हुन्छ । देउवाको अनुभव, शेखरको राजनीतिक विरासत, गगनको नयाँ पुस्तासँगको सम्बन्ध र अन्य नेताहरूको संगठनात्मक क्षमतालाई एउटै राजनीतिक शक्तिमा रूपान्तरण गर्न सकियो भने काँग्रेसले नयाँ ऊर्जा प्राप्त गर्न सक्छ ।
तर त्यसका लागि सबैभन्दा पहिले व्यक्तिगत अहंकार त्याग्नुपर्छ । कसले जित्यो र कसले हा¥यो भन्ने प्रश्नभन्दा काँग्रेसले जित्यो कि हा¥यो भन्ने प्रश्न महत्वपूर्ण हो । नेतृत्वको दाबीभन्दा पार्टीको भविष्य ठूलो हो । गुटको अस्तित्वभन्दा लोकतन्त्रको गरिमा ठूलो हो । नेताहरूले आफ्ना समर्थकको तालीभन्दा कार्यकर्ताको पीडा सुन्नुपर्छ । आज काँग्रेसका हजारौँ कार्यकर्ता नेतृत्वको झगडाबाट निराश छन् । उनीहरूलाई अर्को गुट, अर्को अधिवेशन वा अर्को शक्ति प्रदर्शन होइन, स्पष्ट दिशा र एकताबद्ध संगठन चाहिएको छ ।
काँग्रेसले आफ्नो इतिहासबाट सिक्नुपर्छ । बीपी कोइरालादेखि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई हुँदै गिरिजाप्रसाद कोइरालासम्मका नेताहरूले कठिन परिस्थितिमा पार्टीलाई जोगाएका थिए । मतभेदका बीच पनि उनीहरूले लोकतन्त्र र पार्टीको व्यापक हितलाई प्राथमिकता दिएका थिए । आजको नेतृत्वले पनि त्यही राजनीतिक संस्कार देखाउन सक्नुपर्छ । इतिहासको गौरव भाषणमा चिच्याएर मात्र वर्तमानको संकट समाधान हुँदैन । इतिहासले दिएको जिम्मेवारी पूरा गर्न वर्तमानमा त्याग, संयम र दूरदृष्टि देखाउनुपर्छ ।
काँग्रेसभित्रको विवाद अब केवल देउवा र गगनको विवाद रहेन । यो काँग्रेसको भविष्य र लोकतन्त्रको भविष्यसँग जोडिएको प्रश्न हो । जनताले काँग्रेसबाट सत्ता संघर्ष होइन, जिम्मेवार प्रतिपक्ष, लोकतान्त्रिक संस्कार र वैकल्पिक राजनीतिक दृष्टिकोण खोजिरहेका छन् । देशमा नयाँ राजनीतिक चेतना र नयाँ पुस्ताको सक्रियता बढिरहेको अवस्थामा काँग्रेस पुरानै गुटगत समीकरणमा अल्झिरहने हो भने इतिहासको गौरवले मात्र उसको राजनीतिक भविष्य जोगाउन सक्दैन ।
त्यसैले देउवाले अब आफ्नो राजनीतिक अनुभवलाई विभाजनको होइन, एकताको सूत्र खोज्ने अभियानमा लगाउनुपर्छ । गगनले पनि आफ्नो नेतृत्वलाई उदार, समावेशी र संवादमुखी बनाउनुपर्छ । डा. शेखर, पूर्णबहादुर र अन्य नेताहरूले पनि व्यक्तिगत गुटभन्दा पार्टीको संस्थागत भविष्यलाई प्राथमिकता दिनुपर्छ । एकताको अर्थ सबैले सबै कुरा स्वीकार गर्नु होइन । एकताको अर्थ असहमतिका बीच पनि साझा उद्देश्यमा उभिन सक्नु हो । काँग्रेसको एकता कुनै नेताको कृपा होइन, कार्यकर्ताको अधिकार हो । देशको लोकतन्त्रलाई बलियो बनाउन काँग्रेस बलियो हुनैपर्छ । त्यसका लागि अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो—तमासा बन्द गर, संवाद सुरु गर ।
काँग्रेसलाई अर्को विभाजन होइन, नयाँ एकता चाहिएको छ । नेतृत्वको जुँगाको लडाइँ होइन, लोकतन्त्रको भविष्यको चिन्ता चाहिएको छ । इतिहासले काँग्रेसलाई फेरि एउटा अवसर दिएको छ । त्यो अवसर गुमाउने कि सम्हाल्ने, निर्णय आजका नेताहरूले गर्नुपर्छ ।
काँग्रेसको भविष्य अझै समाप्त भएको छैन । तर त्यसको भविष्य जोगाउने जिम्मेवारी अब भाषणले होइन, व्यवहारले पूरा गर्नुपर्ने बेला आएको छ ।








प्रतिक्रिया