Logo

मुख्य समाचार

होला त एमालेमा पुनर्गठन?



नेकपा एमालेभित्र चुनावी पराजयपछि सुरु भएको आन्तरिक विवाद र नेतृत्व पुनर्गठनको बहस यतिबेला वारपारको लडाइँमा परिणत भएको छ । उपाध्यक्ष रामबहादुर थापा ’बादल’ को संयोजकत्वमा गठित कार्यदलमा महासचिव शंकर पोखरेलले फरक प्रतिवेदन दर्ज गराएका छने । उनको प्रतिवेदनले अध्यक्ष केपी शर्मा ओलीलाई “नैतिक जिम्मेवारी लिएर मार्गप्रशस्त गर्न“ सिफारिस गरेपछि एमालेको राजनीति तरंगित बनेको हो । यसका विरुद्ध ओली पक्षले बादललाई अघि सार्दै ३९ पृष्ठको प्रतिवाद प्रतिवेदन मात्र लेखाएन, “पुनर्गठन“ र “मार्गप्रशस्त“ जस्ता शब्दमै कडा आपत्ति जनाएर एउटा स्पष्ट लक्ष्मणरेखा कोरिदिएको छ । 

आफ्नो नेतृत्व रक्षाका लागि अध्यक्ष ओली बालकोट र गुण्डुस्थित निवासबाटै आक्रामक रूपमा सक्रिय छन् । ओलीले पार्टीभित्रको यो प्रस्तावलाई आफूविरुद्धको सुनियोजित घेराबन्दीका रूपमा बुझेका छन् । उनले नेताहरूसँगको छलफलमा आक्रोशपूर्ण ढंगले भन्ने गरेका छन् — “मलाई हटाउन नक्कली प्रतिवेदन तयार पारियो, एमालेलाई पुनर्गठन होइन, पुनर्जागरण आवश्यक छ“ । ओली पक्षको स्पष्ट तर्क छ कि यदि अध्यक्षले मात्रै चुनावी हारको जिम्मेवारी लिएर पद छाड्ने हो भने उनीसँगै जोडिएका महासचिव र अन्य पदाधिकारीहरूले पनि नैतिक रूपमा राजीनामा दिनुपर्छ । ओलीले आफू पराजयको एकल ’बलीको बोको’ नबन्ने बरु संसद् पुनस्र्थापना र जनआन्दोलनका विरासत बोकेको ५६ वर्ष लामो राजनीतिक संघर्षको बलमा अन्तिमसम्म लड्ने रक्षात्मक कार्ड फ्याँकेका छन् ।

अर्कोतर्फ, ओलीविरुद्ध पार्टीभित्र संस्थागत र भुसको आगो झैँ फैलिएको अभियान पनि कम्ती शक्तिशाली छैन । यस अभियानको नेतृत्व प्रत्यक्ष–परोक्ष रूपमा महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय, र युवा पुस्ताका नेताहरूले गरिरहेका छन । जसलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको दह्रो मौन समर्थन रहेको बताइन्छ । ओलीविरुद्ध जारी अभियानका अभियन्ताहरूको निश्कर्ष छ कि वर्तमान नेतृत्वको अहंकार र एकलौटी कार्यशैलीका कारण एमाले जनतामा अलोकप्रिय बन्दै गएको हो । युवा पंक्ति र भण्डारी निकट नेताहरूले “नेतृत्वको बहिर्गमन अब सर्तसहित होइन, निशर्त हुनुपर्ने“ भन्दै पहिलो पुस्तालाई सन्यास लिन र युवालाई बाटो छाड्न चौतर्फी दबाब बढाइरहेका छन् ।

काभ्रेको बल्थलीमा हालसालै सम्पन्न दुई दिने आवासीय बैठक र त्यसपछि गुण्डुमा भएका वार्ताहरूमा सहमति नजुटेपछि विवाद थप पेचिलो बनेको छ । कार्यदलले विवाद मिलाउन बादल, विष्णु पौडेल र शंकर पोखरेल सम्मिलित तीन सदस्यीय उपसमिति बनाएर भाषाशैलीमा ’कैँची’ चलाउने प्रयास गरे पनि वैचारिक खाडल पुरिन सकेको छैन । यो विवाद आगामी साता अर्थात, असोज ५–७ का लागि तय गरिएको केन्द्रीय कमिटीको बैठकमा पुग्दा एमालेमा ठूलो वैचारिक विस्फोट हुने निश्चित छ ।

अन्ततः एमाले यतिबेला इतिहासकै सबैभन्दा कठोर परीक्षामा छ । केपी ओलीलाई जबर्जस्ती पदच्युत गर्ने सामथ्र्य बहुमत पक्षसँग तत्काल नदेखिए पनि, ओलीका लागि अब विगत जस्तो एकलौटी र चुनौतीमुक्त नेतृत्व चलाउन असम्भवप्रायः भइसकेको छ । ओली कति लचिलो बन्छन् र विद्रोही समूह कुन विन्दुसम्म सम्झौता गर्न तयार हुन्छ, त्यसैमा एमालेको अखण्डता निर्भर छ । यदि यो इगो र नेतृत्वको टकराव केन्द्रीय कमिटीमा व्यवस्थापन हुन सकेन भने, एमालेभित्र लामो समयदेखि निसास्एिको उकुशमुकुशले जुनसुकै बेला ठूलो संगठनात्मक दुर्घटना निम्त्याउन सक्छ ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहिबार  ५ : ०६ बजे