Logo

समाचार

युद्ध पर्यटन केन्द्र डाँडागाउँले मुहार फेर्दै



रोल्पा । नेपालमा वि.सं.२०५२ साल फागुन १ गतेदेखि महान १० वर्षे जनयुद्ध सुरुभएको थियो । अहिले पनि रोल्पाको विभिन्न ठाउँमा धेरै संघर्ष र युद्ध गरेको ठाउँहरु रहेका छन् । जसमध्ये रोल्पाको परिवर्तन गाउँपालिका वडा नं.२ डाँडागाउँ पनि एक हो । अहिले युद्ध पर्यटन केन्द्रको रूपमा विकासका लागि थप कार्य निर्माणको भइरहेको छ।यसरी निर्माण कार्यले तीव्रता पाएपछि युद्ध केन्द्रको रुप रङ्ग फेरिदैँ गएको पाइन्छ । जसले गर्दा आन्तरिक तथा बाह्ये पर्यटकहरु अवलोकनका लागि आउने विश्वास समेत गरिएको छ ।

डाँडागाउँ पर्यटनको हिसाबले मात्र होइन राजनीतिक हिसाबले पनि महत्त्व बोकेको ठाउँ समेत मानिन्छ । देशको परिवर्तनका लागि प्रमुख नेतृत्व गर्ने पुष्पकलम दाहाल (प्रचण्ड) समेत बसेको ठाउँ हो ।अहिले यसरी युद्ध पर्यटनको केन्द्र बन्छ भनेर उत्तिखेर कसैले सोचेको थिएन होला सायद । परिवर्तन गाउँपालिका वडा नं.२ राङ्सीका वडाध्यक्ष तथा परिवर्तन गाउँपालिकाका प्रवक्ता हरिप्रसाद बुढा मगरले जानकारी दिए अनुसार जनयुद्धका प्रमुख नेतृत्व पुष्पकमल दाहाल (प्रचण्ड) रोल्पामा सबै भन्दा धेरै बसेको ठाउँ डाँडागाउँ हो ।

उनी वि.सं.२०६१/०६२ सालसम्म बसेको वडाध्यक्ष बुढा बताउछन्। ‘पहिले प्रचण्ड बसेको घरलाई संरक्षण गर्नको लागि माथिबाट टसला राखिएको छ र मेसिनरी वाल र घेरबार जाली लगाउने काम भएको छ ।’ वडाध्यक्ष बुढाले भने । पहिले र अहिले धेरै फरक भएको मानिन्छ, पुरा घर ढुङ्गा, माटो र काठबाट बनेका छन् । पहिलेको जिर्ण भवनको माथि फलामका खम्बा र जस्तापाता राख्दा मुहार फेरिएको जस्तो देखिन्छ ।साथै संघ सरकारको आर्थिक सहयोगमा र जनता खरिद बाट करिब ४५ लाख रुपैयाँ बराबरमा निर्माण भएको हो ।

अहिले मेसिनरी वालमा रङ्ग लगाउने कार्य सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा हेलिप्याड निर्माण हुने क्रममा रहेको छ । त्यसैगरी युद्ध पर्यटन केन्द्र भित्र पुष्पकलम दाहाल (प्रचण्ड) युद्धको समयमा बस्दै गरेको करिब २० मिटर लामो बंखर देख्न सकिन्छ भने सुरक्षाकर्मीहरुको घेराबाट बच्नको लागि उनी बंखर भित्र बस्ने गरेको पाइन्छ । उतिखेर उक्त घरभित्र कसरी सुरक्षाकर्मी बस्ने गरेका थिए लगाएत ठाउँहरु जस्ताको त्यस्तै रहेका दृश्य देख्न सकिन्छ ।

युद्ध पर्यटन केन्द्र विकास गर्नको लागि वि.सं.२०७५ देखि जग्गा खरिद गर्ने काम सुरु भएको थियो । वि.सं. २०७६ साल देखि फिल्ड निर्माण गर्ने र प्रचण्ड बसेको पहिले घरमाथि टसला निर्माण गर्ने कार्य सम्पन्न भइ वि.सं.२०७६ फागुन ८ गते युद्ध पर्यटन केन्द्र डाँडागाउँको उतिबेलाका उर्जा, जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुन, संघीय सरकारका शिक्षा तथा स्वास्थ्य सभापति जयपुरी घर्ती तथा पूर्व सभामुख ओनसरी घर्तीमगरले उद्घाटन गरेका थिए । अहिले प्रचारप्रसारमा केही कमी भएको स्थानीयहरुको भनाइ रहेको छ ।

साच्चिकै युद्ध पर्यटन केन्द्रलाई आन्तरिक तथा वाह्ये क्षेत्रमा प्रचारप्रसार गरि पर्यटकहरूलाई आकर्षित गर्न सकेमा भविष्यमा डाँडागाउँ बासीलाई रोजगार सृजना हुने विश्वास समेत लिएको छ । डाँडागाउँ अहिका उपराष्ट्रपति नन्द बहादुर पुन र शिक्षा तथा स्वास्थ्य सभापति जयपुरी घर्तीमगरको गाउँ हो ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  ९ : २५ बजे