Logo

Breaking News 1

रवि लामिछानेले खोलेको राजनीति दलको नाम–राष्ट्रिय स्वतन्त्र पार्टी



काठमाडौं । बहुचर्चित संचारकर्मी रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक राजनीति दल घोषणा गरेका छन् । मंगलबार उनले राष्ट्रिय सभागृहमा आयोजित सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको नाम घोषणा गरेका हुन् ।

उनले आफ्नो पार्टीमा स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरूलाई आउन आग्रह गर्दै आँफुले नेतृत्व गर्न नसके पार्टीको नेतृत्व ओगटेर नबस्ने बताए । उनले कार्यक्रममा समानुपातिक मत दिएर आफ्ना पार्टीलाई मत दिन आग्रह गरेका छन् । उनले उम्मेदवार चयनमा सदस्यहरुबाट प्राइमरी निर्वाचन गरेर निर्वाचित भएर आउनेहरुले मात्र उम्मेदवार बन्न पाउने, ५१ प्रतिशत युवा अनिवार्य हुने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने लगायतका अजेण्डाहरु सार्वजनिक गरेका छन् ।

उनले पार्टीभित्र राइट टु रिजेक्टको नीति लागुगर्ने, डिजिटल डेमोक्रेशीको अभ्यास गर्ने, परिवारवादलाई पूर्ण रूपमा निषेध गर्ने घोषणा गर्दै उनले भने’ केन्द्रीय समितिमा कुनै पनि नातेदार दोहोरिने छैनन् । एउटै पार्टीबाट एकै परिवारका २ व्यक्तिले लाभ पाउन सक्ने छैनन् ।’

उनले आफ्नो दलको भातृ सङ्गठन नहुने र कार्यकर्ता समेत नहुने भन्दै शुभेच्छुकहरूको जिम्मेवारी मत दिएर जिम्मेवारी दिने मात्र रहेको बताएका छन् । उनले आफ्नो पार्टीले कुनै उद्योगी र व्यापारीसँग चन्दा नलिने घोषणा समेत गरेका छन् । ’चन्दाको गन्धा धन्दा हामी कहिले गर्ने छैनौँ । सर्वसाधारणबाट चन्दा उठाउने छौँ ।’

लामिछानेले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने पनि घोषणा गरे । तर निर्वाचनमा ’राइट टु रिकल’को व्यवस्था पनि आफ्नो पार्टीको अवधारणा रहेको उनले बताए । उनको पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री हुने शासकीय प्रणालीको वकालत गर्ने बताए । पार्टीले कुनै पनि भ्रातृ संगठन नबनाउने र व्यापारीहरुबाट चन्दा नउठाउने घोषणा लामिछानेले गरेका छन् ।

उनले पार्टी घोषणा गर्दा आफ्नो पार्टी पुराना पार्टीभन्दा ७ फरक अवधारणाका साथ अगाडि बढ्न खोजेको बताएका छन् । जसमा के–के अवधारणा छन् त ?

पहिलो- प्रारम्भिक निर्वाचन
लामिछानेले यो अवधारणाअनुसार पार्टीबाट आम निर्वाचनहरूमा उम्मेदवार बन्नका लागि पहिले आन्तरिक निर्वाचन लड्नुपर्ने व्यवस्था रहेको बताएका छन् । त्यसका लागि उम्मेदवार हुन चाहनेले पहिले पार्टीका सबै सदस्यहरूको मतबाट निर्वाचित हुनुपर्ने र निर्वाचित भएपश्चातमात्रै उम्मेदवार हुन पाउने व्यवस्था अगाडि सारेको बताए । त्यसबाट अब टिके र चाकरीकै भरमा टिकट पाउने युगको अन्त्य हुने दाबी गरे । ‘अब पार्टीका सदस्यता लिएका मान्छेको भोट नलिइ कोही नेता बन्न सक्नेछैनन्,’ घोषणा सभामा उनले भने ।

दोस्रो- बहुसंख्यक युवा (५० प्लस १)
उनले आफ्नो पार्टीमा बहुसंख्यक युवा रहने बताए । जसका लागि पार्टीका सबै समितिमा ५० प्लस १ को अवधारणा अगाडि सारेको बताए । यसले युवाहरू पार्टीको नेतृत्वमा मात्र नभइ देशको बागडोर सम्हाल्ने अवस्थामा पुग्ने दाबी गरे ।

तेस्रो- प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री
यो अवधारणा अन्तर्गत प्रधानमन्त्री र मुख्यमन्त्री बन्नका लागि निर्वाचन अघि नै पार्टीको आन्तरिक निर्वाचनमा चुनिएको व्यक्ति प्रधानमन्त्री र मुख्यमन्त्री उम्मेदवार बन्ने लामिछानेले बताए । जसमा पहिले पार्टीभित्रका साधारण सदस्यहरूको मतबाट प्रधानमन्त्री वा मुख्यमन्त्रीको उम्मेदवार चुनिने र जसमा साधारण सदस्य वा पार्टी सभापति जोसुकै भिड्नसक्ने व्यवस्था रहेको बताए ।

त्यसबाहेक त्यसरी चुनिएको प्रधानमन्त्री वा मुख्यमन्त्रीको उम्मेदवारले निर्वाचनमा जाँदा आफ्नो मन्त्रीमण्डल आफैँ छनोट गर्नसक्ने बताए । जसले प्रधानमन्त्री र मुख्यमन्त्रीको उम्मेदवारले आफूले चाहेको योग्य व्यक्तिलाई छनोट गर्ने अधिकार हुने उनले बताए ।

चौथो- राइट टु रिकल र राइट टु रिजेक्ट
पार्टीभित्रको नेतृत्व र सार्वजनिक पदमा कुनै व्यक्तिलाई निर्वाचित गरेर पठाउँदा पार्टीका साधारण सदस्यसँग ‘राइट टु रिकल’ र ‘राइट टु रिजेक्ट’को व्यवस्था रहने लामिछानेले बताए । ‘आफूले पठाएको व्यक्तिले राम्रो काम नगरे साधारण सदस्यको भोटबाट बोलाउने मात्र होइन, कठालो समातेर ल्याउने व्यवस्था गरेका छौं,’ उनले भने,‘साथै राइट टु रिजेक्टको व्यवस्था पनि गरेका छौं ।’

पाँचौ- डिजिटल डेमोक्रेसी
यस व्यवस्था अन्तर्गत आजैबाट डिजिटल प्लेटफर्मबाट पार्टी सदस्यता लिनसक्ने, पार्टीको मतमतान्तरमा सहभागी हुनसक्ने व्यवस्था अंगीकार गरिएको लामिछानेले बताए । यो व्यवस्था तत्कालका लागि पार्टीभित्र सुरू गरेर भविष्यमा देशमा नै लागू गरिने उनले बताए ।

‘हरेक कुरा डिजिटल प्लेटफर्मबाट हुन्छ,’ उनले भने,‘अब मत हालिसकेपछि पनि महिनौ लाएर घुर्दैघुर्दै महिनौं लगाएर मत गन्नुपर्ने युगको अन्त्य गर्छौं ।’

छैठौं- परिवारवादलाई पूर्णरूपमा निषेध
आफूले निर्माण गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमा परिवारवादलाई पूर्ण रूपमा निषेध गर्ने अर्को व्यवस्था रहेको लामिछानेले बताए । ‘केन्द्रीय समितिमा कुनै पनि नातागोतालाई स्थान दिइँदैन,’ उनले भने, ‘स्थान नदिनेमात्र होइन, पूर्णरूपमा निषेध गरिएको छ ।’

सरकारमा पनि परिवारवाद पूर्णरूपमा निषेध गरिएको उनले बताए । ‘कुनै पनि नातागोतामा पर्ने व्यक्तिलाई न ल्याइँनेछ, न नियुक्ति दिइँनेछ,’ उनले भने ।

सातौं- भ्रातृसंगठन नहुने, कार्यकर्ता हुनु नपर्ने
आफ्नो पार्टीको कुनै भ्रातृ संगठन पनि नहुने र कार्यकर्ता पनि हुनु नपर्ने लामिछानेले बताए । जो जहाँ छन्, त्यहीबाट साधारण सदस्य लिएर स्वतन्त्र भएर बस्न पाइने उनको भनाई छ ।

‘कार्यकर्ता भन्ने युगको अन्त्य, कुनै कार्यकर्ता हुँदैन, सदस्यमात्रै हुने हो,’ उनले भने,‘भ्रातृसंगठन त हुँदै हुँदैन । सदस्य र फलोअर्समात्रै हुन्छ ।’

पार्टी सदस्यले कोही कसैको झोला पनि बोक्नु नपर्ने उनले बताए । लामिछानेले भने, ‘चुनावमा भोट हाल्नबाहेक केही पनि गर्नुपर्दैन, मन लागेको व्यक्तिलाई भोट हाल्दिए पुग्छ, कसैको झोला बोक्नुपर्दैन ।’

लामिछानेले जनताको प्रतिक्रियापछि मात्र आगामी संसदीय चुनावमा कुन क्षेत्रबाट आफू चुनाव लड्ने भन्ने निर्णय गर्ने बताए । आफूलाई हार्ने सुविधा नभएको बताउँदै लामिछानेले अहिले नै कुन निर्वाचन क्षेत्रबाट लड्ने तय नगरेको समेत अवगत गराए ।

लामिछानेले भने, ‘मलाई त झापा, डडेलधुरा र चितवनबाट चुनाव लड्न मन छ । म डराएको होइन । तर सरकारले कस्तो चुनाव गराउँछ भन्ने इतिहास थाहा छ । हामीलाई हार्ने सुविधा छैन । राजनीति पत्रकारिता जस्तो छैन । यसलाई राजनीति जसरी नै गर्नुपर्छ । जहाँबाट तपाईंहरूको प्रतिक्रिया आउँछ त्यहाँबाट चुनाव लड्छु ।’ उनले यसपटक एकजना ‘बेथितिको मेन स्वीच’लाई संसद छिर्नबाट रोक्ने प्रतिबद्धता भने जनाए ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १ : ३७ बजे