Logo

मुख्य समाचार

रुकुम पूर्वकोमा सैनिक क्याम्प राख्न खोजिएपछि स्थानीयको विरोध



रुकुमकोट । ढोरपाटन शिकार आरक्षले रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नं. ६, बयलडाँडामा आर्मी क्याम्प राख्न खोजेपछि त्यसको विरोध गर्दै आएका स्थानीयले धर्ना स्थगित गरेका छन् । आर्मी क्याम्प बसेपछि वनजंगलमा आफूहरुको सम्बन्ध नरहने र आर्मीले भने अनुसार चल्नुपर्ने भन्दै स्थानीय यही जेठ १५ गतेबाट धर्नामा बसेका थिए ।

स्थानीय, जनप्रतिनिधि र ढोरपाटन आरक्षका प्रतिनिधिबीचको छलफलमा २४ गते गाउँपालिकास्तरीय सर्वपक्षीय बैठक बस्ने र सोही बैठकले गर्ने निर्णय अनुसार अघि बढ्ने मौखिक सहमतिपछि स्थानीयले धर्ना फिर्ता लिएको छलफलमा सहभागी ढोरपाटन शिकार आरक्षका सहायक वार्डेन अविनास थापामगरले जानकारी दिए ।

मंगलबार बिहानबाट साँझ अबेरसम्म बयलडाँडामा आरक्षको टोली र पुथा उत्तरगंगा ५ र ६ नम्बर वडाका हालका तथा निवर्तमान वडाध्यक्षहरुसँग छलफल गरिएको थियो । छलफलमा केही पार्टीका प्रतिनिधि र स्थानीय पनि सहभागी थिए ।

पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ६ को बयलडाँडामा ढोरपाटन शिकार आरक्षले आर्मी क्याम्प बनाउन भनेर यही जेठ १२ गते राति डोजर लगाएर जमिन खन्न सुरु गरिएको थियो । त्यसलगत्तै जेठ १३ गतेको दिन वडामा रहेको सामुदायिक वन सरोकार समितिले त्यसको विरोध गर्दै विज्ञप्ती निकालेको थियो । १३ गतेकै दिन तकसेरामा आर्मी क्याम्प राख्ने पक्षमा रहेका र विरोध जनाएकाहरुसँगै सम्बन्धित सरोकारवाला पक्षसँग छलफल गर्दा पनि कुनै सहमति हुन सकेन ।

सो छलफलबाट सहमति नजुटेपछि १५ गते साँझबाट स्थानीयले धर्ना नै सुरु गरेका थिए । त्यसै दिन आरक्षबाट सहायक वार्डेन थापामगर र दुर्गा बक्स गुल्मका उपसेनानीसहितको टोली बयलडाँडामा आएको थियो । सो टोलीलाई बयलडाँडा प्रवेश गर्न पनि स्थानीयले केहीबेर अवरोध गरेका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ८ : ५० बजे