काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदमा पुनःनिर्वाचित रेनु दाहालले जनताको मनोविज्ञान बुझेर काम गर्ने बताएकी छिन् ।
अन्तिम मतपरिणाम आएपछि प्रतिक्रिया दिँदै उनले महानगरवासीलाई निराश हुन नदिने बताइन् । स्थानीय तहमा यो आफ्नो अन्तिम कार्यकाल भएको भन्दै दाहालले महानगरका अधुरा काम पूरा गर्ने बताइन् ।
उनले भनिन्,“देशकै ध्यान यो महानगरमा रहेकाले आफू जित्नु सुखद भए पनि जनताको भावना बुझेर काम गर्छु”, उनले भनिन्,“स्थानीय सरकार भनेको राजनीति गर्ने ठाउँ होइन, विकास निर्माण गर्ने हो, त्यतै तर्फ लाग्छु ।”
पहिलो पटकको कार्यकालमा महानगरमा आफूले गरेको पहिलो निर्णय अहिले धेरै पालिकाले सुरु गरेकाले त्यो जनताबाट अनुमोदित भएको उनले बताइन् ।
पहिलो पटक उनी निर्वाचित भएसँगै पहिलो निर्णय भरतपुर अस्पतालमा महिलाका लागि बहिरङग सेवाको टिकट निःशुल्क गरिएको थियो ।
पाँच दलीय गठबन्धन शान्ति र प्रगतिको लागि भएकाले यो लामो समयसम्म जाने बताउँदै उनले यो भत्किहाल्ने, टुटिहाल्ने जस्तो केही पनि नहुने बताइन् ।
प्रतिक्रिया