Logo

Breaking News 1

धनगढी उपमहानगर: स्वतन्त्र उम्मेद्वार हमालको अग्रता कायमै



काठमाडौं । धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले भारी मतान्तरसहित आफ्नो अग्रता कायमै राखेका छन् ।

पछिल्लो प्राप्त परिणामअनुसार १४ हजार ७३६ मतगणना हुँदा हमालले ६ हजार ५९६ मत ल्याएका छन्। हमाललाई पच्छ्याइरहेका कांग्रेसका नृपबहादुर वडले ३ हजार ३५४ मत मात्र पाएका छन् भने एमालेका रणबहादुर चन्दले २ हजार ६७४ मत ल्याएका छन् ।

वड र चन्दको संयुक्त मत जोड्दा पनि हमालको मत बढी हुन्छ । वड र चन्दको संयुक्त मत ६ हजार २८ मात्र पुगेको छ । उपमेयरमा गठबन्धन र एमालेबीच प्रतिष्पर्धा हुने देखिएको छ ।

गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिएकी माओवादी केन्द्रकी शान्ति अधिकारीले सुरुवातमा फराकिलो अन्तरले लिड गरेपनि एमालेकी उम्मेदवार कन्दकला राननले अहिले मतान्तर घटाएकी छिन् ।

अधिकारीले २ हजार ९४० मत प्राप्त गर्दा रानाले २ हजार ८४५ मत पाएकी छिन्। उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभाकर भण्डारीले १ हजार ६४८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ११ : ११ बजे