Logo

निर्वाचन विशेष

दैलेखको ठाँटीकाँध गाउँपालिकामा भत्कियो एमालेको किल्ला, कांग्रेस विजयी



काठमाडौं । नेकपा एमालेको गढ मानिएको दैलेखको ठाँटीकाँध गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रक्षबहादुर शाह निर्वाचित भएका छन् ।

यो गाउँपालिकामा ०७४ को निर्वाचनमा कांग्रेसले जम्मा एउटा वडा जितेको थियो । यसपटक भने बहुमतसहित पालिका अध्यक्ष जितेको छ ।

कांग्रेसका रक्षबहादुर शाहले २५७१ मत ल्याएर विजयी भएका हुन् । उनले एमालेकी लक्ष्मीदेवी शाहलाई २९२ मतान्तरले पराजित गरे । लक्ष्मीदेवीले २२७९ मत पाएकी छन् । लक्ष्मीदेवी पूर्वमन्त्री एवम् एमालेका कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहकी श्रीमती हुन् ।

यो पालिका कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको गृह पालिका पनि हो । प्रदेशसभा सदस्यमा एमालेबाट जितेका शाहीकै वडा ठाँटीकाँध–६ मा पनि कांग्रेस विजयी भएको छ ।

यो पालिकामा नेकपा माओवादी तेस्रो स्थानमा रह्यो । माओवादीका उमेश कुमार रावत (निर्मल)ले अध्यक्षमा १६१७ मत पाएका छन् ।

उपाध्यक्षमा भने एमालेका देवीराम बडुवाल विजयी भएका छन् । उनले २६९५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी भद्रा कुमारी शाहीले २४१६ मत ल्याएकी छन् । माओवादीकी विजुकुमारी थापाले १००५ मत प्राप्त गरेकी छन् ।

६ वटा वडा रहेको यो पालिकामा ०७४ मा पाँच वटा वडामा एमालेले जितेको थियो । तर यो पटक एमाले दुई वटा वडामा मात्र सीमित रह्यो । काँग्रेसले वडा नं. १, ३, ४ र ६ मा जित्दा एमालेले वडा नं. २ र ५ मा मात्र जित हासिल गरेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ९ : २४ बजे