Logo

निर्वाचन विशेष

मतदानको दिन वर्षाको प्रक्षेपण भएपछि आयोगले भन्योः मतदान केन्द्रमा त्रिपालको व्यवस्था गर्नू



काठमाडौं । स्थानीय तहको निर्वाचनको मतदानको दिन अर्थात ३० वैशाखमा वर्षाको आँकलन गरिएपछि निर्वाचन आयोगले हरेक निर्वाचन केन्द्रमा पालरत्रिपालको व्यवस्था गर्न निर्देशन दिएको छ ।

वर्षाका कारणले मतदान र मतगणना कार्य प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामग्रीसमेतको सुरक्षा गर्न आयोगले सरकारी निकायलाई निर्देशन दिएको हो ।

शुक्रबार बिहान ७ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मतदान हुने सबै मतदान केन्द्रमा पाल÷त्रिपाल वा
प्लाष्टिकको व्यवस्था गर्न आयोगले भनेको हो । स्थानीय तहका सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन भनिएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा ४० बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहहरूलाई निर्देशन दिने निर्णय गरेको हो । साथै, सोको आवश्यक समन्वय एवम् सहजीकरणका लागि गृह मन्त्रालय मार्फत सबै प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन गर्ने निर्णय गरिएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ७ : १३ बजे