Logo

निर्वाचन विशेष

माओबादीलाई संकेत गर्दै ओलीले भने,‘मतपत्र च्यातिन सक्छन्, चनाखो बन्नुहोस’



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले जनताको भोटबाट जित्ने सम्भावना नरहेकाले मतपत्र च्यात्न सक्ने भन्दै गणना नसकिएसम्म नसुत्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पोखरा महानगरपालिकाको मेयर कृष्ण थापा र उपमेयर मन्जु गुरुङको टिमलाई मत माग्न पुगेका ओलीले आज सोमबार आयोजित जनसभालाई सम्बोधन गर्दै गठबन्धनका सबैखाले षड्यन्त्रविरुद्ध चनाखो हुनुपर्ने बताए ।
अध्यक्ष ओलीले भने, ‘गठबन्धनले भोटले जित्ने होइन । त्यसैले यिनीहरुले मतपत्र च्यात्ने, चपाउने र निल्ने बानी परेका छन् । भरतपुरमा पहिले त्यसै गरेका हुन् । त्यसैले हाम्रा साथीहरु मतदानको गणना नसकिएसम्म तपाईंहरु सुत्न हुन्न । पशुपतिमा एउटा बाँदर आउँछ र टोकरी खोस्छ यहाँ त पाँचवटा बाँदरहरु छन् । मतपेटिकालाई आँखाबाट ओझेलमा पर्न दिनु हुन्न ।’
उनले पोखरामा गठबन्धनको आमसभामा माधव नेपालले कांग्रेसलाई धम्क्याएको भन्दै केपी ओलीको हालत हुने भनेर चेतावनी दिएकोमा व्यंग्य गरे । उनले कसको हालत के हुन्छ भन्ने कुरा वैशाख ३० बाट प्रस्ट हुने दावी गरे ।

गठबन्धनका नेताहरु आफ्ना शाखा सन्तानलाई भोट नदिए मुलुक दुर्घटनामा पार्ने धम्की दिँदै हिँडेको भन्दै ओलीले कांग्रेसको बेहाल भइरहेको टिप्पणी गरे ।
उनले गणेशमान र कृष्णप्रसाद भट्टराईले कांग्रेस छाडेको स्मरण गर्दै कांग्रेसका धेरै कार्यकर्ताको हालत त्यस्तै भएको बताए ।
ओलीले चुनावमा धाँधली हुनसक्ने जिकिर गरेका छन् । ओलीले बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन नहुने बताए । एमाले शान्तिको पक्षमा रहेको र शान्तिपूर्ण ढंगले जनताले दिएको मतको पक्षमा रहेको उल्लेख गर्दै ओलीले नतिजा नआएसम्म नेता कार्यकर्ताले आँखा झिमिक्क समेत गर्न नहुने बताए ।
उनले पाँच दलीय गठबन्धन भोटले जित्ने नभइ मतपत्र च्यात्ने, चपाउने र निल्ने रणनीतिमा रहेको जिकिर पनि गरे । ‘केके गर्न सकिन्छ, नचाहिने जति त्यही त्यही गर्छन् । सिन्धुपाल्चोकको सभामा एउटा माओवादीको नेताको भाषण युट्युवमा छ । सबै अस्त्र प्रयोग गर्ने, कब्जा गर्ने र आफ्ना मान्छेलाई मात्रै प्रवेश गराएर जसरी पनि जित्ने भनेर भाषण गरेको छ’, ओलीले भने, ‘हामी शान्तिको पक्षमा छौँ । शान्तिपूर्ण ढंगले जनताले दिएको मतको पक्षमा छौँ । कसैले शान्ति सुव्यवस्थामा खलल पार्न खोज्छ भने बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन हुँदैन ।’
उनले आफूले शास्त्रको कुरा गर्दा विपक्षीले उखान टुक्का भनेर नबुझेर टिप्पणी गर्ने गरेको पनि बताए ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  २ : ५६ बजे