Logo

Breaking News 1

ओली प्रजातन्त्रको खिलापमा छन्, त्यसैले गठबन्धन आबस्यक छ : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओली प्रजातन्त्र बिरुद्ध भएकोले यो गठबन्धन आबस्यक भएको बताएका छन् ।

आज आइतबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका देउवाले गठबन्धन बनेपछि पोखराको अवस्था फेरिएको बताए । उनले भने, ‘गठबन्धन बन्नु अगाडि कस्तो अवस्था थियो ? आज कांग्रेसको नेतृत्वमा सरकार छ, सबै पार्टी सहभागी भएका छन् । त्यसकारण कांग्रेसका साथीहरुबाट गठबन्धनलाई शंका उपशंका गर्ने काम गर्नु हुँदैन ।’ गठबन्धन आफ्नो दललाई सबभन्दा आवश्यक भएको देउवाले बताए ।
ओलीले संसद भंग परेपछि गठबन्धन बनेको र अरु दल उदार भएर कांग्रेसलाई सरकारको नेतृत्वमा ल्याएकाले गठबन्धनलाई सफल पार्नु आफूहरुको कर्तव्य भएको बताए । उनले भने, ‘गठबन्धन बचाउन पोखरा महानगर मात्र होइन, सबै पालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी हुन जरुरी छ ।’
ओली स्वयं र उनले नेतृत्व गरेको पार्टी प्रजातन्त्र, गणतन्त्रको खिलापमा रहेको उनले बताए । देउवाले भने, ‘स्थायित्व स्थिरताका लागि गठबन्धनलाई जिताउनु पर्छ । ओलीले जित्यो भने संसद भोलि नै भंग गरिदिनसक्छ ।’
देउवाले संविधान जोगाउनको लागि बनेको गठबन्धनबाट सबै दललाई फाइदा भएको र काँग्रेसलाई झन् धेरै फाइदा भएको जिकिर गरे ।
देशभरको महानगरमा गठबन्धनको तर्फबाट धेरै मेयर र उपमेयर पदको उम्मेदवार काँग्रेसको भएको जिकिर गर्दै उनले गठबन्धनको पक्षमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । गठबन्धनको उम्मेदवारले जित्दा काँग्रेसको र देशको जित हुने उनको दाबी थियो । देशभर अन्य विभिन्न स्थानमा हुन लागेको गठबन्धनको सभालाई सम्बोधन गर्नका लागि सबै शीर्ष नेताहरू थोरै मात्र बोलेर हिँडेका थिए । अन्य सभामा आजै कार्यक्रम भ्याउनु परेकोले नेताहरुले भाषण छोट्याएका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  २ : ५९ बजे